विराटनगर : काङ्ग्रेसजनले जननायक भनेर आदरका सम्बोधन गरिने नेता विश्वेश्वरप्रसाद कोइराला र उनका कान्छा भाइ गिरिजाप्रसादको चुनाव क्षेत्रमा पार्टीका केन्द्रीय सदस्य एवम् अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की चारतारे झन्डा बोकेर भोट मागिरहेका छन्।
सुनसरीको क्षेत्र नम्बर ४ मा हेभीवेट प्रत्यासीका रूपमा मन्त्री कार्की पार्टीका शीर्षस्थ एवम् स्वर्गीय नेताद्वय कोइराला दाजुभाइको गुमेको धरोहरलाई पुनःस्थापना गर्न प्रयत्नशील देखिन्छन्।
प्रजातन्त्रको पुनःस्थापनापछि २०४८, ५१ र ५६ का निर्वाचनमा यसै क्षेत्रबाट गिरिजाप्रसाद विजयी भएर पटकपटक प्रधानमन्त्री भएका थिए। विपी कोइराला २०१५ सालको चुनावमा निर्वाचित भएर प्रधानमन्त्रीमा चुनिएको यस क्षेत्रबाट २०६४ र २०७० को निर्वाचनमा भने सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले विजयको माला पहिरिए।
यस पटकको निर्वाचनमा उनै उपेन्द्रको फोरमले नेपाली काङ्ग्रेसलाई समर्थन गरेका कारण मन्त्री कार्की आफ्नो विजयप्रति विश्वस्त देखिन्छन्।
‘यो क्षेत्र त्यसै पनि काङ्ग्रेसको आधारभूमि र साङ्गठनिक इलाका हो’, विश्वासका कार्कीले भने, ‘बिपी र गिरिजाबाबुका पसिनाले भिजेको यस ऐतिहासिक क्षेत्रमा फोरमले पनि हामीलाई समर्थन गरेको छ। त्यसैले यहाँ कसले जित्छ भत्रे प्रश्नको उत्तर बालकले पनि दिनसक्छ।’
कार्की २०३५ मा नेविसङ्घको केन्द्रीय सदस्य र २०३९ सालमा केन्द्रीय अध्यक्ष थिए। पञ्चायतविरूद्धको आन्दोलनमा लागेका कारण २०३३ सालदेखि नै थुनामा परेका उनी पटकपटक गरी चार वर्ष जेल बसेका छन्।
पार्टीको ११औँ महाधिवेशनयता निरन्तर केन्द्रीय सदस्य निर्वाचित हुँदै आएका उनी अरुण तेस्रो र माथिल्लो कर्णाली आयोजना अघि बढाउने काम आफ्नै मन्त्रित्व कालमा भएको भन्दै गर्व गर्दछन्।
कार्कीको प्रतिस्पर्धा नेकपा एमालेका रमेश श्रेष्ठसित छ। श्रेष्ठ आफू पनि राजनीतिक परिवारका प्रतिष्ठित सदस्य हुन् र यस क्षेत्रमा उनको परिवारको योगदान पहिलेदेखि नै रहिआएको छ।
सुनसरीका चर्चित पञ्चनेता स्वर्गीय दिलबहादुर श्रेष्ठका छोरा रमेश यसअघि राप्रपाका नेता थिए। उनलाई शाही कालमा तत्कालीन राजा ज्ञानेन्द्रले सुनसरी जिविसको सभापतिमा पनि मनोनित गरे। उनी राप्रपाका सहमहामन्त्री पनि भए। तर राप्रपा अध्यक्ष कमल थापाले श्रेष्ठका सट्टा इटहरीका रामकुमार सुब्बालाई बढी च्यापेपछि रमेश एमाले प्रवेश गरेका हुन्।
धनाढ्य एवम् व्यावसायिक घरानाका श्रेष्ठलाई टिकट दिएका कारण एमालेका कोशी अञ्चल इन्चार्ज भीम आचार्यलाई आर्थिक प्रलोभनमा परेको आरोपसमेत लगाइएको छ।
बाबु दिलबहादुरकै पालादेखिको राजनीतिक प्रभाव भएको र आफूले पनि यही क्षेत्रमा काम गरेको कारण देखाउँदै रमेश आफू जित्ने कुरामा ढुक्क छन्।
कोशी र भोक्राहा गाउँपालिकाका सबै वडा तथा रामधुनी गाविसको वडा नं. ४, वराह नगरपालिकाका ६ वटा र इनरुवा नगरपालिकाका ३ वटा वडा जोडेर बनाइएको यस क्षेत्रमा १ लाख ७ हजार मतदाता छन्।
यस क्षेत्रमा मधेसी, मुस्लिम र पहाडे गरी ३ समुदायको बसोबास लगभग बराबर अर्थात् ३३/३३ प्रतिशत रहेको देखिन्छ।
कार्की र श्रेष्ठका मिल्दाजुल्दा एजेन्डा
लोकतान्त्रिक गठबन्धनबाट काङ्ग्रेसका उम्मेदवार मन्त्री कार्की र वाम गठबन्धनका तर्फबाट एमालेका श्रेष्ठ दुबैका चुनावी एजेन्डा लगभग उस्तै छन् ।यस क्षेत्रमा सबैभन्दा समस्या कोशीपीडितको छ । कोशी योजनाका कारण बसाइँ सर्नुपरेका यहाँका बासिन्दाले २०२२ सालदेखि सट्टाभर्नाको जमिन पाएका छैनन् ।
त्यस्तै २०६५ साल भदौमा कोशीको तटबन्ध फुटेर यही क्षेत्रमा बाढी पसेको थियो । बाढीले घर बगाएर विस्थापित भएकाले पनि बासिन्दा अझै सुकुम्बासी छन् ।
‘यस क्षेत्रमा १५ हजारको सङ्ख्यामा सुकुम्बासी परिवार रहेको पाइएको छ’, मन्त्री कार्कीले भने, ‘कोसी नदीले कटान गरेको घर–जग्गाको क्षतिपूर्ति चलनचल्तीको मूल्यमा दिइनुपर्छ। यसका लागि ६ महिनाभित्र काम सम्पन्न गर्ने गरी अध्ययन तथा सुझाव आयोग गठन गराउनेछु।’
त्यस्तै कोसी नदीले कटान गरेको नम्बरी जग्गाको क्षतिपूर्ति दिलाउने आश्वासन पनि उनले दिएका छन् ।
एमालेका श्रेष्ठले पनि कोशीपीडित र सुकुम्बासीका समस्यालाई आफ्नो मुख्य एजेन्डा बनाउँदै ५ वर्षभित्रमा समाधान गर्ने प्रतिबद्धता प्रकट गरेका छन् ।
यही क्षेत्रमा विश्वकै दुर्लभ चराचुरुङ्गी तथा जङ्गली जनावर अर्नाको बासस्थान रहेको कोसीटप्पु वन्यजन्तु आरक्ष छ । तर अर्ना, हात्ती लगायतका जङ्गली जनावरले बालीनालीमा पुर्याउने नोक्सानीले आरक्ष आसपासका जनता पीडित छन्।
वन्यजन्तु आरक्ष आसपासमा जङ्गली जनावरले पुर्याएको क्षतिपूर्ति स्थानीय बासिन्दालाई सर्वसुलभ र नियमित रूपमा दिन व्यवस्था गर्ने आश्वासन मन्त्री कार्की र श्रेष्ठले दिएका छन्।
आरक्षमा स्थायी रूपमा जैविक तथा विद्युतीय घेराबेरा लगाउने तथा कोशी तट तथा आरक्षको सेरोफेरोलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न तत्काल काम सुरु गर्ने दुबै आकांक्षीको चुनावी घोषणा छ ।
मन्त्री कार्कीले भने, ‘जननेता विपी कोइरालाले सुनसरी खोलामा बाँध बनाएर यस क्षेत्रको हजारौँ हेक्टर जग्गामा सिँचाइ सुविधा पुर्याउन आरम्भ गर्नुभएको आयोजना पञ्चायत–कालभरि थान्को लगाइयो। यो काम म पूरा गर्नेछु।’