चितवन : पृथ्वी राजमार्गअन्तर्गत चितवनको चुम्लिङमा यात्रु बस र ट्रक ठोक्किदा भएको दुर्घटनामा मृतयु हुनेको संख्या आठ पुगेको छ।
काठमाडौँबाट अर्घाखाँचीका लागि छुटेको लु२ख २९१ नम्बरको यात्रु बसलाई मुग्लिङबाट धादिङ गइरहेको ना६ख ४९७२ नम्बरको ट्रकले ठक्कर दिँदा यात्रु बस त्रिशूली नदीमा खसेको थियो।
घटना लगत्तै ६ जनाको शव भेटिएको थियो भने पछि गोताखोरले त्रिशूलीबाट एक जनाको शव निकालेका थिए। एक जनाको भने उपचारका क्रममा ललितपुरको सातदोबाटोस्थित बिएण्डबी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकमध्ये देवदह नगरपालिका वडा नम्बर १० नवलपरासीका दीपक पाण्डेको मात्रै परिचय खुलेको छ। बसका सहचालक सुनिल क्षेत्रीका अनुसार बसमा ३२ यात्रु थिए। शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले जानकारी दिए।
२१ जना घाइते मध्ये नौ जनाको चितवनको पुरानो मेडिकल कलेजमा र अन्यलाई उपचारका लागि काठमाडौं लगिएको छ।
तीन जना यात्रु हराइरहेका छन्। उनीहरुको खोजी भइरहेको छ।