
अधिकांश दोस्रो रोजाईका खेलाडीलाई खेलाइएको खेलमा बार्सिलोना रियल मुर्सियालाई ५-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ प्रवेश गरेको छ।
पहिलो लेगमा ३-० को जित हात पारेको बार्सिलोना समग्रमा ८-० ले विजयी हुँदै प्रिक्वाटरफाइनलमा स्थान बनाएको हो। बार्सिलोनाका लागि घरेलु मैदानमा फ्रान्सिस्को अल्कासेर, जेरार्ड पिके, एलेक्स भिदाल, डेनिस सुवारेज र जोस अर्नाएजले एक एक गोल गरे।
यस्तै फर्नान्डो टोरेसको दुई गोल मद्दतमा इल्चेलाई ३-० ले पराजित गरेको एथ्लेटिको मड्रिड समग्रमा ४-१ ले विजयी हुँदै अन्तिम १६ मा प्रवेश गरेको छ। एथ्लेटिकोका लागि जोस जिमिनेजले अर्को गोल गरे। पहिलो लेग एथ्लेटिकोले २-१ ले जितेको थियो।
सेभिया कार्टागेनालाई समग्रमा ७-० ले पराजित गर्दै अनतिम १६ मा पुगेको छ। पहिलो लेगमा ३-० को जित हात पारेको सेभियाले दोस्रो लेग ४-० ले जित्यो। सेभियाका लागि विसम येन वेडरले दुई तथा पाउलो गान्सो र ज्याकुएन कवरेअले एक एक गोल गरे।
एथ्लेटिक विल्वाओ भने सेगुन्डा डिभिजन ग्रुप थ्री को क्लब फोर्मेनटेरासँग समग्रमा २-१ ले पराजित हुँदै बाहिरिएको छ।