
बुटवल : पाल्पा क्षेत्र नम्बर दुईका प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य पदका वाम गठबन्धनका उम्मेदवार भोट माग्न बुटवल आएका छन्।
बुटवलमा बसोबास गर्ने पाल्पालीहरुसँग भोट माग्न वाम गठबन्धनका उम्मेदवार बुटवल आएका हुन् ।
बुटवलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पाल्पा क्षेत्र नं. २ का प्रतिनिधिसभाका एमाले उम्मेदवार सोमप्रसाद पाण्डेले पाल्पा जिल्ला अब लालकिल्ला बन्ने उद्घोष गरे।
उनले भने, ‘हामी क्षेत्र नं. २ मा करिब ११ हजार मतले कांग्रेस भन्दा अगाडि छौं, जित सुनिश्चित छ।’ प्रदेशमा पनि मतान्तर करिब ५ हजार हुने उनको दाबी छ।
पाण्डेले वाम गठबन्धनलाई निर्वाचनमा हराउन लोकतन्त्रवादी भनिने शक्तिले अनेक चलखेल गरिरहेको आरोप लगाए। उनले शिद्धबाबाको सडक धेरै जोखिमपूर्ण भएकाले सकेसम्म सुरुङमार्ग निर्माण गरिने नभए बैकल्पिक सडकका लागि पहल गरिने बताए।
कार्यक्रममा नेकपा एमालेका नेता ठाकुर गैरेले समाजवादसम्म पुग्ने वामहरुको लक्ष्य पुरा हुने विश्वास व्यक्त गरे। उनले समाजवाद उन्मुख समाज निर्माणका लागि वाम एकता भएको भन्दै माओवादी केन्द्र र एमालेबीचका विगतका तिक्तता भुल्नुपर्ने बताए।
कार्यक्रममा पाल्पा क्षेत्र नं. २ (क) का प्रदेश सभा सदस्य उम्मेदवार डा. पुरन बज्राचार्य र २ (ख) का उम्मेदवार लुलाराम घर्ती (बसन्त)ले पाल्पालाई लालकिल्ला बनाउन रुपन्देहीमा बस्ने पाल्पालीलाई महत्वपूर्ण भूमिका खेलिदिन आह्वान गरे।