धनकुटा : खाल्सा छिन्ताङ शहीद भूमि गाउँपालिका–१ का जनकबहादुर वालिङले आफ्नो घर हुँदै सदरमुकाम जाने बाटो पक्की गर्नेलाई मत दिने बताए।
‘हिलेदेखि त्रिवेणी जोड्ने बाटो कालोपत्रे नहँदा सदरमुकामसम्म जान कठिन छ, बर्खामासमा त झन हिलोले गाडी नै चलाउन मिल्दैन त्यसैले जसले बाटो बनाउँछ उसलाई भोट दिने हो’– वालिङले भने।
बाटो कालोपत्रे हुन नसक्दा गाउँमा उत्पादन भएका सुन्तला र अदुवालगायतका वस्तु सदरमुकामम्म पुर्याउन कठिन भएको छ। सदरमुकाम धनकुटाबाट (हिले हुँदै) करिब २२ किलोमिटर पश्चिममा पर्ने छिन्ताङवासीले बाटोसँगै खानेपानी, रोजगारी, शिक्षा र स्वास्थ्यको पनि माग गरेका छन्। छिन्ताङका स्थानीय मोतीप्रसाद राईले आफ्नो गाउँमा खाने पानीको समस्या भएको बताउँदै पानीको व्यवस्था गर्न माग गरे।
एउटा मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटाका उम्मेदवारले १ नम्बर प्रदेशको राजधानी बनाउने विषयलाई पहिलो चुनावी मुद्दा बनाएका छन्। राजनीतिक दलका नेताहरूले पटकपटक निर्वाचनमा त्रिवेणी जोड्ने बाटोलाई कालोपत्रे गर्छु भन्दै आश्वासन मात्रै दिएको स्थानीयवासीको गुनासो छ।
मंसिर २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा वर्तमान सरकारका उद्योगमन्त्री सुनिलबहादुर थापा र राजेन्द्र राईबीच चुनावी प्रतिस्पर्धाले हुँदैछ।
वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राई जनताले मत दिएर जिताएमा धनकुटादेखि त्रिवेणी जोड्ने छिन्ताङको बाटोलाई प्राथमिकताका साथ कालोपत्रे गर्ने संकल्प गरेका छन्।
यी उम्मेदवारले आआफ्ना चुनावी घोषणापत्रमा प्रदेशको राजधानीलाई मुख्य मुद्दामा अघि सारेका छन्। लोकतान्त्रिक गठबन्धनका तर्फका उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का महामन्त्रीसमेत रहेका मन्त्री थापाले धनकुटालाई प्रदेश नम्बर १ को राजधानी बनाउनुका साथै पर्यटन विकासमा जोड दिने बताएका छन्।
प्रदेशसभाको (क) निर्वाचन क्षेत्रबाट वाम गठबन्धनबाट एमालेका नीरन राई र लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका मनोहरनारायण श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन्।
त्यसैगरी धनकुटाको (ख) निर्वाचन क्षेत्रमा वाम गठबन्धनबाट इन्द्रमणि पराजुली र लोकतान्त्रिक गठबन्धनबाट संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य अर्जुन थापा उम्मेदवार रहेका छन्। रासस