म्याग्दी : कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको म्याग्दीको सदरमुकाम बेनी बजार संरक्षणका लागि ११ करोड रुपैयाँको लागतमा आयोजना सुरु भएको छ।
जोखिमयुक्त जिल्ला सदरमुकाम बचाउ कार्यक्रमअन्तर्गत जलउत्पन्न प्रकोप नियन्त्रण सबडिभिजन कार्यालय बागलुङले कालीगण्डकीको दायाँ र म्याग्दीको बायाँ किनारमा आरसिसी र मेसिनरी पर्खाल निर्माणको काम सुरु गरेको हो।
चालु आर्थिक वर्ष २०७४/७५ मा नदी कटान नियन्त्रणका लागि दुई वटा प्याकेजमा काम गर्न ११ करोड ३२ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता भएको सबडिभिजन प्रमुख इञ्जिनियर खगेन्द्र भट्टचनले जानकारी दिए।
मंगलाघाटस्थित म्याग्दी नदीको बायाँ किनार, म्याग्दी र कालीगण्डकीको दोभान, तगा कालीपुलस्थित कालीगण्डकी नदीको दयाँ किनारमा ३५९ मिटर रिटेनिङ र आरसिसी पर्खाल निर्माण गर्न पाँच करोड २६ लाख पाँच हजारमा ठेक्का सम्झौता गरेको समानान्तर बिएन जेभीले कार्यक्षेत्रमा काम सुरु गरिसकेको छ।
एक वर्षको ठेक्का अवधि भएपनि वर्षाअघि नै सम्पन्न गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिएको समानान्तर बिएन जेभीका प्रतिनिधि नारायण जिसीले बताए।
आर्थिक वर्ष २०७१/७२ देखि ७३/७४ को अवधिमा कालीपुलमा रहेको पक्की पुलदेखि म्याग्दी उद्योग वाणिज्य संघको भवनको पछाडिसम्म ३९३।५ मिटर आरसिसी पर्खाल निर्माण भइसकेको छ। नदी किनारमा निर्माण हुने आरसिसी पर्खाल ७।५ मिटर र मेसिनरी पर्खाल पाँच मिटर अग्लो हुनेछ।
आर्थिक वर्ष २०७६/७७ सम्ममा बेनी बजार संरक्षण आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ। करिब एक हजार घर रहेको बेनी बजार नदी कटानका हिसाबले देशमै जोखिमयुक्त सहर मानिन्छ।
यसअघि नदी किनारमा तारजाली ग्याबिन भरेर पर्खाल लगाउँदै आए पनि अहिले कटानको समस्या दिगोरुपमा समाधानका लागि गुरुयोजना तयार गरी पक्की पर्खाल लगाउन थालिएको हो।
नदी किनारमा पर्खाल लगाएपछि त्यसमाथि फिलिङ गरेर चक्रपथ सञ्चालन गर्ने योजना रहेको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताए।रासस