
वासिङ्टन : अमेरिकाका करिब ७० प्रतिशत युवाले हाल संयुक्त राज्य अमेरिकामा रहेका दुई राजनीतिक दललाई मन नपराएको र वैकल्पिक दल चाहेको सर्वेक्षणले देखाएको छ।
सर्वेक्षणका अनुसार अमेरिकामा हाल डेमोक्र्याट र रिपब्लिकन भन्दा अर्कै दल चाहेको उनीहरुले बताएका थिए।
ती दुई राजनीतिक दलले अमेरिकामा राम्रो काम गर्न नसकेको गुनासो उनीहरुको छ। त्यसैले उनीहरुले यी दुईको सट्टामा राम्रो काम गर्ने दल चाहेको बताएका हुन्।
सर्वेक्षणमा सहभागी भएका मध्येका ६० प्रतिशत युवाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरिरहेको कार्य सम्पादनको विरोध गरेका छन्।
उनीहरुले राष्ट्रपति ट्रम्पको कार्यशैली नरुचाएको र उनले जारी राखेका कामहरु जनताले मन पराउने खालका नरहेको पनि बताए।
एनबिसी न्युजले गरेको सो सर्वेक्षणमा सहभागी करिब ६५ प्रतिशत युवाहरुले संयुक्त राज्य अमेरिका हाल सबै राजनीतिक विषयहरुमा गलत दिशातर्फ उन्मुख भइरहेको जनाएका छन्।
उक्त सर्वेक्षणका अधिकांश सहभागीहरुले अमेरिकामा राजनीतिक दलले जनताको वास्ता नगर्ने गरेको जनाएका छन्।
राष्ट्रिय रुपमा नै प्रतिनिधित्व हुने गरी उक्त सर्वेक्षणमा विभिन्न जात जाति, वर्ग र क्षेत्रका आधारमा नागरिकलाई संलग्न गराइएको थियो।
उक्त सर्वेक्षण गत अक्टोबर २६ देखि नोभेम्बर १० सम्म गरिएको थियो। रासस/सिन्ह्वा