
पोखरा : निर्वाचनको मिति सात दिन मात्रै बाँकी रहँदा मतदान केन्द्रका गाउँ–टोलमा खटिएका मतदाता शिक्षा स्वयंसेवक अझै मतदाता सामु पुगेका छैनन्।
मतदातालाई मतपत्रमा छाप लगाउने तरिकाबारे जानकारी दिने स्वयंसेवक नै गाउँघरमा नपुगेपछि मतदाता अलमलमा परेका छन्।
पोखरा नगर क्षेत्रको नजिक रहेको पोखरा–लेखनाथ महानगरपालिका–९ नयाँबजारमा मतदाता शिक्षा स्वयंसेवक नआएको स्थानीय मतदाता मायादेवी शर्मा बताउँछिन्।
स्थानीय तह निर्वाचनमा एउटै मतपत्रको सात ठाउँमा स्वस्तिक छाप लगाएका मतदातालाई यसपालिको निर्वाचनमा भने तीनवटा मतपत्रका चार ठाउँमा स्वस्तिक छाप लगाउनुपर्ने हुन्छ।
सुरुमा मतपत्र लिएपछि प्रतिनिधिसभामा उम्मेदवारी दिएका दल वा स्वतन्त्र उम्मेदवारको चुनाव चिह्न, त्यसपछि प्रदेशसभामा उम्मेदवारी दिएका दल वा स्वतन्त्र उम्मेदवारको चुनाव चिह्न र अन्तिमको मतपत्रमा समानुपातिकतर्पm प्रतिनिधिसभा र प्रदेशसभाका लागि दलको चुनाव चिह्नमा मतदाताले स्वस्तिक छाप लगाउनुपर्छ।
समानुपातिकतर्फ एउटै मतपत्रमा माथि प्रतिनिधिसभा र तल प्रदेशसभाको चुनाव चिह्न भएकाले आफूलाई मन पर्ने दलको माथि र तलको चुनाव चिह्नमा स्वस्तिक छाप लगाएपछि एउटै अन्तिम मतपेटिकामा खसाल्नु पर्नेछ।
कात्तिक २५ गते क्षेत्रीय निर्वाचन कार्यालयले दुई चरणमा मतदाता शिक्षा स्वयंसेवकका लागि तालिम सञ्चालन गरी जिल्लाका ३१७ वटै मतदान केन्द्रमा स्वयंसेवक खटाएको थियो।
मतदाताका शिक्षाका लागि निर्वाचन आयोगले करोडौँ रुपैयाँ खर्च गरे पनि खर्च अनुसारको सेवा प्राप्त हुन नसकेको मतदाता बताउँछन्।रासस