उदयपुर : उदयपुरगढी गाउँपालिका– ६ स्थित दनुवारबेसीमा एम्बुस थाप्ने मुख्य योजनाकारलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ।
उनीहरुले प्रयोग गरेको मोटरसाइकलसहित एम्बुस थाप्ने मुख्य योजनाकार त्रियुगा नगरपालिका– ७ शाही खोलाका बलबहादुर मगरलाई पक्राउ गरिएको प्रहरी प्रमुख नवराज भट्टले बताएका छन्। बाँकीको पहिचान भइसकेको र उनीहरुको खोजी भइरहेको भट्टले बताए।
उदयपुर क्षेत्र नं २ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणबहादुर कार्कीको गाडीलाई लक्ष्य गरेर दनुवारबेसीको जंगलमा एम्बुस थापेपछि कार्कीसहित सात जनाको टोली एम्बुसमा परेको थियो। एम्बुसबाट सख्त घाइते कार्की र उनका स्वकीय सचिव मीरा कटुवालसहित छ जना सख्त घाइते भएका थिए। रासस