
- पासाङ ठकुल्ला -
एकातिर हाई प्रोफाइलका नेता तथा नेकपा एमालेका उपाध्यक्ष भीम रावल छन्। अर्कोतिर विकास प्रेमीको छवि बनाएका नेपाली कांग्रेसका जिल्ला सभापति भरत स्वाँर छन्।
उपप्रधान मन्त्रीसमेत भइसकेका रावल ५ औं पटक चुनावी प्रतिस्पर्धामा छन्। कांग्रेस उम्मेदवार स्वाँर भने पहिलो चुनावी अनुभव गर्दैछन्।
यसअघि ४ पटक चुनावी मैदानमा ओर्लिएका रावलले २ पटक हारको अनुभवसमेत गरिसकेका छन्। दोस्रो संविधानसभामा सोही क्षेत्रबाट ५ हजार बढी मत अन्तरले विजयी भएका रावल यसपटक पनि आफनो विजयी यात्रा कायम राख्ने रस्साकस्सीमा छन्।
यता कांग्रेस उम्मेदवार स्वाँर भने एमालेको विजयी यात्रालाई रोक्ने प्रयासमा छन्। जिल्ला विकास समितिको सभापति भएका बेलादेखि उनलाई अछामी जनताले निकै रुचाएका पनि छन्। स्वाँर जिविस सभापतिमा भएका बेला अछामको शैक्षिक अवस्था सुधार र विभिन्न विकासका काम गरेर लोकप्रिय छन्।
रावलले राष्ट्रिय राजनीति र मुलुकको समृद्धिमा जोड दिइरहँदा स्वाँरले भने अछामको विकासमा जोड दिइरहेका छन्।
रावलको चुनावी तयारी यस्तो छ
यतिबेला घरदैलो तथा आमसभामार्फत मतदाताको माँझमा रहेका रावलले आफ्नो उम्मेदवारीको बारेमा जनतालाई प्रष्ट्याइरहेका छन्।राजनीतिक संक्रमणकालको अन्त्य गर्दै मुलुकमा शान्ति सुरक्षाको प्रत्यभूतिसहित समृद्ध मुलुकको निर्माण गर्ने अभियनामा आफू र वाम गठबन्धन लागिरहेको उनले बताए ।
अछामी जनताका लागि रावलले सेती लोकमार्ग निर्माण, बुढीगंगा हाइड्रोपावर निर्माण, पर्यटकीयस्थलहरुको विकास र साँफेबगर विमानस्थलको सञ्चलान गर्ने जस्ता महत्वकांक्षी योजना सम्पन्न गर्ने प्रतिबद्धता गरेका छन्।
के भन्छन्–प्रतिस्पर्धी स्वाँर ?
पहिलो पटक चुनावी मैदानमा होमिएका स्वाँरले समृद्ध अछामको नारा दिएका छन्। उनले महिला साक्षरता बढाउने, विदेशिने युवा शक्तिलाई स्वदेशमा रोजगारी सिर्जनाका लागि पहल गर्ने र अछामको विकासमा कटिबद्ध रुपमा लाग्ने प्रतिबद्धता गरेका छन्। चुनावी अभियानका क्रममा आफूप्रतिको युवा आकर्षण र जनताबाट पाएको प्रतिक्रियाले उत्साहित भएको उनी बताउँछन्।
उनले भने, ‘अछामको शैक्षिक अवस्था सुधारका लागि प्रमुखताका साथ मैले भूमिका खेलेको थिएँ। यो सँगै अछामी जनताको हितका लागि थुप्रै विकासका काम गरेकाले यहाँका जनताले विकासवादी नेताको रुपमा हेरेका छन् । त्यसैले पनि मेरो जित सुनिश्चित छ।’
उनले यहाँका जनताले हाई प्रोफाइल नेताभन्दा पनि अछामको विकास गर्ने नेतालाई मतदान गर्ने दाबी गरे।
स्थानीय निकायमा को बलियो ?
निर्वाचन क्षेत्र नम्बर एकमा एक नगरपालिका र चार गाउँपालिका छन्। जसमध्ये दुई गाउँपालिकामा कांग्रेस र माओवादीले चुनावी तालमेल गरेका थिए। यी दुई गाउँपालिकाको माओवादीको मत नजोड्ने हो भने पनि गठबन्धन बलियो देखिन्छ।२३ हजार २ सय ५० मत वाम गठबन्धनको पक्षमा छ भने, दुई ठाउँमा माओवादीसँग गरेको तालमेलसहित कांग्रेसको पक्षमा १८ हजार ३ सय ९७ मत छ।
कांग्रेस माओवादीले चुनावी गठबन्धन गरेको मेल्लेख गाउँपालिकामा विजयी माओवादी अध्यक्षको ४ हजार ५ सय ८ मत थियो भने एमालेको ३ हजार ९ सय ९२ मत।
त्यसैगरी, बान्नीगढी जयगढ गाउँपालिका अध्यक्षमा विजयी कांग्रेसको मत २ हजार ७ सय ९३ थियो भने एमालेको २ हजार ३ सय १९। साँफेबगर नगरपालिकामा विजयी एमालेको ५ हजार ८ सय ३८ मत थियो भने कांग्रेसको ५ हजार ४ सय १२ र माओवादीको ५ सय ६३ मत थियो।
रामारोशन गाउँपालिकाको अध्यक्षमा माओवादी विजयी भएको थियो। यस गाउँपालिकामा माओवादीको ३ हजार ४ सय २, एमाले २ हजार ७ सय ३४ र कांग्रेसले २ हजार ५ सय ४७ मत पाएको थियो। चौरपार्टीमा विजयी एमालेको ३ हजार १ सय ३८, कांग्रेसको, ३ हजार १ सय ३७ र माओवादीले १ हजार २ सय ६८ मत पाएको थियो।