PahiloPost

May 14, 2024 | १ जेठ २०८१

वीरगंज पराठा हाउस संवाद : आन्दोलनमा लागेको घाटा चुनावबाट उठाउँदै



बीपी साह

वीरगंज पराठा हाउस संवाद : आन्दोलनमा लागेको घाटा चुनावबाट उठाउँदै

  • बीपी साह/पीके झा -
वीरगंज : वीरगञ्जमा खाना र खाजाका लागि चर्चित ठाउँ हो पराठा हाउस। करिब २० वर्ष पहिले सानो पसलबाट सुरु भएको पराठा हाउस चलेपछि त्यही नामबाट अहिले आधा दर्जनको संख्यामा पसल खुलेका छन्। 

सबैले आफूलाई ओरिजिनल पराठा हाउस भएको दाबी गर्दै राम्रो खाना र नास्ता खुवाउने बताउँछन्। यीमध्येको एक हो वीरगंज मीना बजार नजिकको विनय कुमार गुप्ताको पराठा हाउस।

तेस्रो मधेश आन्दोलनताका उनको पराठा हाउस करिब ६ महिनासम्म बन्द रह्यो। पसलका स्टाफहरुले त जेनतेन माने तर घर मालिकले सबै भाडा जोडेर लिए। उनलाई अहिले पनि घरबेटीले एक रुपैयाँसमेत नछोडेकोमा पीडा छ। तर, त्यो भन्दा पनि बढी पीडा आन्दोलनको समयमा भएको क्षतिको हो।

‘आन्दोलनमा हाम्रो मान्छे मर्यो। आन्दोलन झन् लम्बिँदै गयो,' उनले पहिलोपोस्टसँग भने, 'मधेशको अधिकारको कुरा थियो। त्यसैले सबै आन्दोलनमा लाग्यौं अनि व्यापारमा निकै घाटा भयो।’

आन्दोलनका बेला छ महिनासम्म पसल बन्द हुँदा लाखौ रुपैंयाँ घाटा लाग्यो उनलाई। महिनौसम्म सोचमा परे तर पछिल्लो पटक मेयरको चुनाव भयो। त्यतिखेर व्यापार पनि राम्रै भयो। गुप्ता भन्छन्, ‘अहिले पनि चुनाव हुँदैछ। साना ठूला नेताहरुले धेरै मान्छे लिएर आउँछन्। व्यापार बढेको छ। आन्दोलनमा लागेको घाटा चुनावबाट ब्यालेन्स हुँदैछ।’

पराठा हाउसमा राजनीतिक कुराकानी पनि चर्कै हुन्छ। दिउँसोभन्दा साँझ आउने ग्राहकले राजनीतिक गफ बढी गर्ने गरेका छन्। आउने सबै नेता र कार्यकर्ताहरुले आफ्नो पार्टी जितिरहेको दाबी गर्छन् यहाँ।

पराठा हाउसमा काम गर्ने रमेश कुमार पासवानले भने, ‘यहाँ त दिउँसो आउनेहरुले बढी हल्ला गर्दैनन्। साँझ परेपछि अबेरसम्म नेता टाइपका मान्छेहरु आउँछन्। उनीहरु सबैले आफुहरु जितिरहेको दाबी गर्छन्। मलाई त तिनीहरुको कुरामाथि विश्वासै लाग्दैन।’
दारु नखाउन्जेल हल्ला नहुने र खाए पछि राजनीतिको कुरा मात्र हुने गरेको पासवान बताउँछन्।

भारतीय कामदारलाई नेपालको चुनाव रमाइलो

वीरगंजका अधिकांश पसलमा भारतीय सीमा क्षेत्रका युवाहरु काम गर्छन्। भारतबाट खाडी मुलुकमा काम गर्न जान झन्झटिलो भएकाले उनीहरु वीरगंजमा कामका लागि आउँछन्। नेपाली युवाहरु सहजै वैदेशिक रोजगारमा जान सक्ने भएकाले यहाँ काम गर्नेहरुको अभाव छ।

भारत बिहारको संग्रामपुर घर भएका वीरेन्द्र पासवान पनि पराठा हाउसमा काम गर्छन्। दलित भएर होटलमा काम गरिरहेकाले आफ्नो थर लुकाउन खोजेका पासवानलाई भारतको चुनावभन्दा नेपालको चुनाव राम्रो लाग्छ। 

उनले आफू २० वर्षदेखि होटल लाइनमा खाना पकाउने काम गर्दै आएको बताए। वीरगंजमा आन्दोलन हुँदा उनी भागेर बिहार नै गए।
पहिलोपोस्टसँग उनले भने, ‘यहाँ आन्दोलन हुँदा हामी घर भाग्यौं। यहाँ पुलिसहरुले मान्छे मार्दै थियो। त्यस्तो त हाम्रोतिर भएको देखेको थिइन।’

आन्दोलन सकिएपछि पुनः काममा फर्किए उनी। र, अहिलेको चुनावमा आफूलाई रमाइलो लागिरहेको उनले बताए। बिहारमा रक्सी खान निषेध छ। तर यहाँका नेताहरु रक्सी खाएर हल्ला गर्दा उनलाई रमाइलो लागेको बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell