PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

मेरोविरुद्ध दुष्प्रचार गर्नेलाई नै घाटा : दमननाथ ढुंगाना

मेरोविरुद्ध दुष्प्रचार गर्नेलाई नै घाटा : दमननाथ ढुंगाना

नेत्र तामाङ/पहिलोपोस्ट


दमननाथ ढुंगाना भक्तपुर क्षेत्र नम्बर २ बाट चुनावी प्रतिस्पर्धीमा छन्। पूर्व सभामुखसमेत रहेका ढुंगानासँग वाम गठबन्धनबाट एमालेका पूर्वमन्त्री महेश बस्नेत र नेमाकिपाबाट पूर्व सांसद अनुराधा थापामगर प्रतिस्पर्धामा छन्।

लामो समय सक्रिय राजनीतिमा नदेखिएका उनी चुनावी मैदानमा देखिँदा धेरैले अप्रत्यासित पनि मानेका छन्। यद्यपी भक्तपुरको चुनावी मैदानमा ढुंगाना बलिया खेलाडीका रुपमा उत्रिएका छन्। प्रचारका लागि घरदैलो कार्यक्रम पूरा गरिसकेका छन् उनले। अहिले आफ्ना 'कोर' मतदातासमक्ष पुगिरहेका छन् ढुंगाना।

चुनावी प्रतिस्पर्धामा उत्रेका उनीमाथि प्रतिद्वन्द्वी भने खनिएका छन्। विभिन्न आरोपहरु लगाइरहेका छन् उनीमाथि। यसै विषयमा ढुंगानासँग गरिएको कुराकानी :

चिसो बढिरहेको छ, यस्तो चिसोमा बिहानै मतदाताकहाँ?

निर्वाचन नजिक छ। यसले माहोल तातो बनाएको छ भनौं। अहिले यस्तो चिसोको ख्याल गरेर पनि भएन। बिहान ६ बजे उठ्ने राति ११ बजेपछि सुत्ने। अझ हिजो त राति १२ बजेमात्र घर आइपुगेँ।

तपाईँ छिमेकी जिल्लाको चुनावी मैदानमा हुनुहुन्छ। यहाँका स्थानीय कांग्रेस कार्यकर्ताको सहयोग कस्तो पाउनुभएको छ?

नेपाली कांग्रेसले जुन उम्मेदवार खटाएको छ, कार्यकर्ताले उसलाई सहर्ष स्वीकार गरी उसको पक्षमा लागेको पाएको छु। उहाँहरुबाट पर्याप्त सहयोग पाएको छु। पार्टीको अनुशासनको कुरा पनि हो यो। अपूर्व एकताको प्रदर्शन भएको छ। मलाई जिताउन यहाँका स्थानियदेखि केन्द्रसम्मका कांग्रेस नेताहरु लागिरहनु भएको छ।

यति धेरै राजनीतिक 'ग्याप'पछि तपाईँको उम्मेदवारी आयो नि?

यो देशमा पटकपटक प्रजातन्त्रका लागि संघर्ष भयो, ठुलो बलिदान भयो। तै पनि प्रजातन्त्रलाई, लोकतन्त्रलाई स्थायित्व दिन सकेनम्। यो निर्वाचनपछि पूर्ण अवधिको सरकार बनाएर जनताप्रति विल्कुलै जवाफदेही बनाएर चल्नुपर्छ। सत्ता भनेको जनताप्रति जवाफदेही हुनुपर्छ। निर्वाचित सरकारले कहिले आफ्नो अवधी पूरा गर्न पाएन नेपालमा। धेरैजसो त बहुमत नपुगेका कारण। त्यसैले यसपटक मलाई मतदान गर्नुस् भनिरहेको छु। स्थायित्वका लागि म निर्वाचनमा आएको हुँ।

घरदैलो, भेटघाटका क्रममा जनताका अपेक्षा के पाउनुभो?

विकास जनताको पहिलो अपेक्षा हुनेरहेछ। विकासको अपेक्षा स्वभाविक हो। अहिले तीन तहको सरकार गठन भएको छ। स्थानीय सरकारले पनि विकासको काम गर्छ। प्रदेश सरकारले बजेट छुट्याउने काम गर्छ। विकासको बाँडफाँट गर्छ। केन्द्रीय प्रतिनिधिले पनि केन्द्रीय बजेट बनाएर बाँड्ने काम गर्छ। सहयोग गर्ने हो। विकासको काम स्थानिय सरकारदेखि उठेर र माथि केन्द्रीय सरकारसम्म हुन्छ। म तीनै तहलाई मिलाएर समन्वय गरेर विकासमा प्राथमिकता दिन्छु।
यो भन्दा ठुलो बेरोजगारी समस्या छ।
यो कृषिप्रधान जिल्ला हो। यहाँको उत्पादनबाटै काठमाडौंसमेत पोषित भइरहेको छ। परम्परागत कृषिलाई आधुनिक बनाउन नसक्दा बेरोजगार बढेको छ। यसैलाई पहिलो प्राथमिकतामा राखेको छु। यहाँ अन्य परम्परागत सीपहरु पनि काममा आएका छैनन्। सम्पदाले सम्पन्न जिल्ला हो। सांस्कतिक हिसाबले पनि धनी नै हो। कला कौशलमा पनि धनी छ। पर्यटन र संस्कृतिक राजधानी बन्ने देखिन्छ। यी विषयमा म प्रथामिकताका साथ लाग्नेछु।

गठबन्धनमा अरु दलबाट कतिको सहयोग पाउने आशा गर्नुभएको छ?

राप्रपा प्रजातान्त्रिकले सक्रिय सहयोग गर्ने भएको छ। यो गठबन्धनलाई सफल बनाउन उसले आफ्नो कर्तव्य सम्झेर खटिरहेको हामीले पाएका छौं। राप्रपाले पनि सहयोग गर्नेछ भन्नेमा हामी ढुक्क छौं।

केही समयअघि नेमाकिपाले पनि सघाउने कुरा थियो, अहिले त आफ्नै उम्मेदवार मैदानमा देखिए नि?

नेमाकिपाले आफ्नो उम्मेदवार बनाएको छ। पार्टीगत रुपमा जे मनासिव लाग्छ उहाँहरुले गर्नुहुन्छ। म यसमा केही भन्दिनँ।

तपाईँका प्रतिद्वन्द्वीले तपाईँलाई 'भारतीय दलाल' भनेर आरोप लगाइरहेका छन्, यसले तपाईँलाई अप्ठेरो पार्दैन?

कसैले आक्षेप लगाउछन् भने मुख थुन्न सकिन्न। यसको कुनै आधार छैन। निराधार कुरा जनताले पत्याउँदैनन्। मेरा बारेमा लागेका आरोपहरु कसैले पत्याइरहेका छैनन् पनि। साँचो भए पो पत्याउनु। जनताले इन्कार गरिसकेका छन्। चुनावका बेला बढाइचढाइ बढी नै हुन्छ। यस्तो दुस्प्रचार गर्नेहरु आफैलाई घाटा हुन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell