PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

पूर्वमन्त्री चढेको गाडीमा हानियो दुई गोली, बालबाल बचे सिरहा १ का प्रतिनिधि सभा उम्मेदवार



राधेश्याम पटेल

पूर्वमन्त्री चढेको गाडीमा हानियो दुई गोली, बालबाल बचे सिरहा १ का प्रतिनिधि सभा उम्मेदवार

वीरगंज : संघीय समाजवादी फोरम नेपालबाट सिरहा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार पूर्व मन्त्री राजलाल यादवलाई लक्षित गरी उनी चढेको गाडीमा अज्ञात समूहले बिहीबार राति गोली हानेको छ। 

लहानबाट घरदैलो सकी राति ७ बजे भगवतीपुर हुँदै आफ्नो गाउँ नहरा जाँदै गरेको अवस्थामा भगवतीपुर गाउँको सरेहमा अज्ञात समूहले दुई राउन्ड गोली हानेको हो। 

‘बाटोमा अज्ञात दुई जनाले गाडीमा टर्च देखाउँदै दुई गोली हाने,’ स्थानीय नेता तथा राजपाका केन्द्रीय सदस्य राकेश झाले भने। गोली प्रहारबाट पूर्वमन्त्री यादव बालबाल बचेको उनले जानकारी गराए।

गाडी तीब्र गतिमा रहेकोले बन्दूकको गोली गाडीको पछाडिको बायाँ साइडको शिशामा लागेर शिशा फुटेको छ।

यस विषयमा बुझ्न बिहीबार राति सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालालाई सम्पर्क गर्दा उनले फोन उठाएनन्।

उत्पात मच्चाउँदै गोइत समूह

पछिल्लो समय सिरहा जिल्लामा गोइत समूहले निर्वाचनविरोधी आपराधिक घटनाको जिम्मा लिँदै आएको छ। राजपा केन्द्रीय सदस्य झाका अनुसार एक साता यता आधा दर्जन भन्दा बम विष्फोटको घटना भएको छ। सिरहा क्षेत्र नं २ को जिरो माइल भन्ने ठाउँमा अज्ञात समूहले बुधवार बम विष्फोट गराएको थियो भने चार दिन पहिले क्षेत्र नं ४ का माओवादी प्रतिनिधि सभा सदस्य उम्मेदवार रामशंकर नायक ‘अभिनाश’को मिर्चियाको प्रचार कार्यालयमा बम राखिएको थियो।

केही दिन अघि क्षेत्र नं २ का फोरम नेपालका प्रतिनिधि सभा सदस्य उम्मेदवार शत्रुधन महतो कोइरीको गाडीमा बम राखी विष्फोट गराउन खोजिएको थियो।

दलका उम्मेदवारहरुको सुरक्षा प्रबन्धमा प्रहरीले लापारवाही गरिरहेको झाले आरोप लगाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell