PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

भूकम्पको इपिसेन्टर गोरखामा ३० महिनामा बने मात्रै ४५ सय घर



पहिलोपोस्ट

भूकम्पको इपिसेन्टर गोरखामा ३० महिनामा बने मात्रै ४५ सय घर

गोरखा:  ‘गोरखा भूकम्प’ गएको तीस महिना हुँदा सरकारी अनुदान रकम लिएर गोरखामा चार हजार ५८५ वटा भूकम्प प्रतिरोधी घर निर्माण भएका छन्। भूकम्पले करिब ७० हजार घर भत्किए पनि सरकारले ६१ हजार ३०० जनालाई घर बनाउन अनुदान दिने सूचीमा राखेको छ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका प्रमुख शिवलाल पौडेलका अनुसार ६१ हजार ३०० लाभग्राहीमध्ये अहिलेसम्म ५८ हजारले ५० हजार पहिलो किस्ता पाइसकेको भने १२ हजार ९२० जनाले दोस्रो किस्ता बुझ्नुका साथै चार हजार ५८५ जनाले तेस्रो किस्ता अनुदान पाएका छन्।

सरकारले जग खन्नका लागि पहिलो किस्ता ५० हजार, घरको डिपिसी गरेपछि दोस्रो किस्ता एक लाख ५० हजार र घर निर्माण सकेपछि तेस्रो किस्ता रु एक लाख दिने नियम बनाएअनुसार किस्ताबन्दीमा भूकम्पपीडितलाई घर निर्माणमा सघाएको हो।

पौडेलले भने, “प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्राधिकरण कार्यालयका कर्मचारी खटिएकाले एक साता अनुदान वितरण प्रभावित भए पनि बुधबारदेखि लाभग्राहीलाई पुनः अनुदान वितरण सुरु गरियो।”

कामदार, निर्माण सामग्री, मापदण्डको अन्यौल, बैंक नहुँदा अनुदान किस्ता लिन सास्ती र बाधा व्यवधानबीच भूकम्पपीडितले घर बनाएका छन्। मर्मत गरेर बस्न मिल्ने घरलाई सरकारले मर्मत खर्च दिने बताएको छ। एक लाख रुपैयाँ लिएर चर्किएका घरहरु मर्मत गर्न सकिन्छ। गोरखाका २०१९ जना भूकम्पपीडितको नामावली एक लाखका दरले अनुदान पाउने गरी प्रबलीकरण (मर्मत)मा निस्किएको भए पनि प्रबलीकरणको काम भने अझै सुरु भएको छैन।

भूकम्पपीडितलाई छिटो अनुदान लिएर घर बनाउन सरकारले आग्रह गर्दै पनि भूकम्पपीडितले अनेक बहानामा घर बनाउन ढिलाइ गरेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell