PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

बाँकेका मतदाता भन्छन्, ‘भोट माग्छन्, मत हाल्न सिकाउँदैनन्’



पहिलोपोस्ट

बाँके : निर्वाचनमा मतदान कसरी गर्ने थाहा छ भन्ने जिज्ञासामा नेपालगन्ज उपमहानगरपालिका–८ घसियारन टोलकी किरण केवटले भने, “तीन पर्चा (मतपत्र) पाइन्छ भन्ने सुनेको छु, अरू थाहा छैन्।”

“दलका नेता–कार्यकर्ता आएर आफ्नो पार्टीको चुनाव चिह्नमा भोट हाल्न भन्छन्, तर कसरी भोट हाल्ने सिकाउँदैनन्”, उनको गुनासो गरे। बाँकेमा मतदाता शिक्षाका लागि निर्वाचन आयोगबाट समेत कोही नआएको पनि केवटले जानकारी दिए।

पहिलो चरणको निर्वाचन मंसिर १० गते ३२ जिल्लामा सम्पन्न भइसकेको छ। दोस्रो चरणको निर्वाचन ४५ जिल्लामा मंसिर २१ गते हुँदैछ तर, अझै मतदाताले मतपत्रको सङ्ख्या र मतपत्रमा कति छाप लगाउनुपर्छ भन्ने जानकारी पाउन सकेका छैनन्।

नेपालगन्ज बिपी चोकका दिनेश ज्ञवालीले भने, “मतदान प्रक्रियाका बारेमा सिकाउन कोही आएकै छैन्, आफै कसरी थाहा पाउनु।”
नेपालगन्ज–१६ की हामिदा अन्सारीले मतदान प्रक्रियाका बारेमा जानकार भए पनि अशिक्षित र पिछडिएको समुदायमा मतदाता शिक्षा प्रभावकारी हुन नसकेको बताए। सोही क्षेत्रका ७२ वर्षीय गफ्फार खाँले निर्वाचनमा जितिसकेपछि गरिबलाई कुनै पनि उम्मेदवारले नहेर्ने गुनासो गरेका थिए। दशकौँदेखि क्षेत्रमा बसोबास गरेका परिवारले हालसम्म लालपुर्जा नपाएको उनको भनाइ थियो।

खानेपानी, शिक्षा, रोजगारी, बाटो, भौतिक पूर्वाधार विकास, विद्युत्, सार्वजनिक शौचालय आदि यस क्षेत्रका मतदाताको मुख्य माग हुन्। नेपालगन्ज बाँकेको मात्र होइन मध्यपश्चिमकै प्रमुख सहर हो। यो उपमहानगरपालिका र सँगैको डुडुवा गाउँपालिका मिलाएर बाँकेको निर्वाचन क्षेत्र नं २ बनाइएको छ। यस क्षेत्रमा प्रतिनिधिसभाका लागि लोकतान्त्रिक गठबन्धनबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका ओमप्रकाश आजाद, वाम गठबन्धनका तर्फबाट स्वतन्त्र उम्मेदवार पशुपतिदयाल मिश्रा र संघीय समाजवादी फोरम नेपालका इस्तियाग राईबीच प्रतिस्पर्धा हुने देखिएको छ।

सबै उम्मेदवार यस क्षेत्रमा सहरी पूर्वाधार विकासलाई मुख्य एजेण्डा बनाएर मतदातालाई आकर्षित गर्न घरदैलो अभियानमा व्यस्त छन्। उम्मेदवारले नेपालगन्जलाई प्रदेश नं ५ को राजधानी बनाउने, सुविधासम्पन्न सहरका रुपमा विकास गर्ने, पर्यटन र उद्योगको हब बनाउने, नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने लगायतका वाचा गर्दै भोट माग्ने गरेका छन्।

गत स्थानीय तहको निर्वाचनमा यस उपमहानगरपालिकाको प्रमुखमा राप्रपा र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति स्व सुशील कोइरालाले २०७० सालको संविधानसभाको निर्वाचनमा यसै क्षेत्रबाट विजय हासिल गरेका थिए।

बाँकेस्थित क्षेत्रीय निर्वाचन कार्यालयका अधिकारी वसन्तराज अधिकारीले भने आयोगबाट खटिएका स्वयंसेवीले मतदान केन्द्रमा मतदाता शिक्षा दिइरहेको बताए। उनका अनुसार यस जिल्लामा १३६ मतदानस्थलमा ३२७ मतदान केन्द्र कायम गरिएको छ।

यसअघिका निर्वाचनमा चार निर्वाचन क्षेत्र रहेको बाँकेमा हाल तीन निर्वाचन र कूल मतदाताको सङ्ख्या दुई लाख ७६ हजार ७१८ छ। क्षेत्र नं १ मा ९८ हजार ३२०, क्षेत्र नं २ मा ८२ हजार ९४९ र क्षेत्र नं ३ मा ९५ हजार ४४९ मतदाता रहेको उनले जानकारी दिए। जिल्लामा एक उपमहानगरपालिका, एक नगरपालिका (कोहलपुर) र ६ गाउँपालिका गरी आठ स्थानीय तह छन्। रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell