PahiloPost

May 14, 2024 | १ जेठ २०८१

प्रहरीको विश्लेषणः प्रदेश ५ मा 'खुल्ला सीमा, सिके राउत र विप्लवको बहिस्कार सुरक्षा चुनौती’



चन्द्रकान्त खनाल

प्रहरीको विश्लेषणः प्रदेश ५ मा 'खुल्ला सीमा, सिके राउत र विप्लवको बहिस्कार सुरक्षा चुनौती’

रुपन्देही : लुम्विनी अञ्चलका कुल ११ सय ३४ मतदान केन्द्रमध्ये २७८ लाई अतिसंवेदनशील मानिएको छ। ३२६ लाई संवेदनशील र ५७० लाई सामान्यमा राखिएको छ। 

रूपन्देहीमा रहेका कुल २०८ मतदान केन्द्रमध्ये अतिसंवेदनशील ७५, संवेदनशील ४२ र सामान्य ९१ मतदान केन्द्र रहेका छन्। 

कपिलवस्तुमा कुल २३३ मध्ये अतिसंवेदनशील १५३, संवेदनशील ६५ र सामान्य १५, नवलपरासीका कुल १२० मतदान केन्द्रमध्ये अतिसंवेदनशील ३, संवेदनशील ५६ र सामान्य ६१, पूर्वी नवलपरासीमा ११२ अतिसंवेदनशील २, संवेदनशील २५, सामान्य ५, पाल्पामा कुल १०१ मतदान केन्द्रमध्ये अतिसंवेदनशील १८, संवेदनशील ४० र सामान्य ६० मतदान केन्द्र रहेका छन्।

अर्घाखाचीका कुल ९३ मतदान केन्द्रमध्ये अतिसंवेदनशील २५, संवेदनशील २५ र सामान्य ४३ तथा गुल्मीमा कुल १३८ मतदान केन्द्रमध्ये संवेदनशील ४८ र सामान्य ९० मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयहरूले जानकारी दिएका छन्। गुल्मीमा अतिसंवेदनशीलको सूचीमा मतदान केन्द्र छैनन्।

सुरक्षा रणनीति

चुनाव प्रचारका क्रममा उम्मेदवारलाई लक्षित गरी एम्बुस र गोली प्रहार गरी आक्रमण हुन थालेपछि सुरक्षा निकायले चुनाव केन्द्रित सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन थालेका छन्।

चुनावको मिति नजिक आउँदै गर्दा चुनाव विरोधी गतिविधि बढ्न सक्ने विश्लेषण गर्दै सुरक्षा निकायले त्यस्ता गतिविधिलाई नियन्त्रणमा लिन थप सुरक्षाकर्मी परिचालनको योजना बनाएका छन्।

पाँच नम्बर प्रदेशमा तराईका जिल्लामा सिके राउतको विखण्डनकारी समूह र पहाडमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको वहिष्कारवादी समूहका गतिविधि चुनावका लागि बाधक बनेको सुरक्षा अधिकारीहरूले बताएका छन्। 

पाँच नम्बर प्रदेशमा १२ जिल्ला रहेका छन्। तीमध्ये नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया गरी तराईका ६ जिल्ला भारतसँग खुला सीमा जोडिएकाले भारतबाट आपराधिक समूह सहज आवत–जावत गर्न सक्ने भएकाले सुरक्षा निकायले सीमावर्ती जिल्लालाई संवेदनशील मानेका छन्।

खुला सीमाले साना हतियारको ओसारपसार सहज भएको र चुनावमा सीमापारीबाटसहज आउन सक्ने भएकाले सुरक्षा निकाय चनाखो बनेका छन्।

कपिलवस्तु, रूपन्देही र नवलपरासीमा मधेशलाई अलग राष्ट्रको माग गर्दै मधेसमा आन्दोलन गर्दै आएको सिके राउत समूहले निर्वाचन विथोल्ने कार्यक्रम गर्न सक्ने विश्लेषण गर्दै त्यस्ता गतिविधिलाई निस्तेज पार्न सुरक्षा निकायले ध्यान दिएको छ।

यो प्रदेशमा पर्ने पहाडका ६ जिल्ला गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, रोल्पा र रुकुममा तराईका जिल्लाको तुलनामा सुरक्षा चुनौती कम रहेको विश्लेषण गरेको सुरक्षा निकायले चुनाव बहिस्कार गरेको नेपाल कम्युनिष्ट पार्टीले गतिविधि आक्रामक बनाएपछि चुनौती बढेको ठहर गरेको छ।

सुरक्षा अधिकारीहरूले लुम्विनीका पहाडी जिल्ला गुल्मी, पाल्पा र अर्घाखाँचीको तुलनामा राप्तीका पहाडी जिल्ला प्युठान, रोल्पा र रुकुममा विप्लव माओवादीको प्रभाव रहेको र सुरक्षा चुनौती बढिरहेको निष्कर्ष निकालेका छन्।

तराईका जिल्लामा खुला सीमाका कारण भारतबाट अपराधिक समूहको घुसपैठ हुन सक्ने भन्दै सुरक्षा निकायले निगरानी बढाएको छ। 

‘खुला सीमाको संवेदनशीलता बुझ्दै सतर्कता बढाइएको छ। सुरक्षा थ्रेट पहिचान गरी अघि बढेका छौँ’ संघीय प्रहरी इकाई कार्यालय भैरहवाका प्रमुख एसएसपी दीपक थापाले भने। 

पाँच नम्बर प्रदेशका १२ जिल्लामध्ये रोल्पा र रुकुममा पहिलो चरणमा मंसिर १० गते र अरु १० जिल्लामा दोश्रो चरणमा मंसिर २१ गते चुनाव हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell