.png)
शेरबहादुर सिंह/कुमार चौलागाईं
भीमदत्तनगर : कञ्चनपुरमा नेपाली कांग्रेसका प्रभावशाली उम्मेदवार र गणितीय आधारमा बलियो देखिएको वाम गठबन्धनका उम्मेदवारहरु आसन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा प्रतिष्ठाको लडाइँ लडिरहेका छन्।
कञ्चनपुरका निर्वाचन क्षेत्रहरूमा राष्ट्रिय राजनीतिमै प्रभाव राख्ने कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीद्वय नारायणप्रकाश साउद र रमेश लेखक वाम गठबन्धनका लागि चुनौतीको रुपमा देखिएका छन्।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका उम्मेदवार साउद २०७० को निर्वाचनमा कांग्रेस नेता बहादुरसिंह थापासँग पराजित एमाले नेता नरबहादुर धामीसँग चुनावी प्रतिस्पर्धामा छन्।
अघिल्लो निर्वाचनमा एमालेका जिल्ला अध्यक्ष तारालामा तामाङलाई पराजित गरेर सांसद भई सिँचाइमन्त्रीसमेत बनेका साउदसामु आसन्न निर्वाचनमा बलियो वाम गठबन्धन हराएर प्रतिष्ठा जोगाउनुपर्ने चुनौती छ।
पुरानो विजय यात्रालाई निरन्तरता दिन पूर्वमन्त्री साउद चुनावी प्रचारमा खटिएका छन् भने वाम गठबन्धनका उम्मेदवार एमाले नेता धामी पनि स्थानीय तहको मतपरिणामको दृष्टिले विजयी हुने दाबीसहित कांग्रेसको विरासत ढाल्ने दाउमा छन्।
२६ प्रतिशत थारु समुदाय रहेको निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी छनोटमा कांग्रेसले देखाएको उदारताका कारण सो समुदायको मत कांग्रेसको पक्षमा आउने पार्टीका कार्यकर्ताको आँकलन छ।
तर, वाम गठबन्धनबाट कञ्चनपुर क्षेत्र नम्बर १ प्रदेश (ख)मा उम्मेदवार रहेका एमाले नेता कुलवीर चौधरी वाम गठबन्धनले सबै जातजाति, वर्ग, समुदायलाई समेटेर उम्मेदवारी दिएकाले रानाथारु समुदायलाई समेट्ने काम भएन भन्नु विपक्षीको चुनावी नारा मात्र भएको बताउँछन्।
कांग्रेसले थारु समुदायको मत लिनकै लागि प्रदेशसभामा श्यामलाल राना र गीता चौधरीलाई समानुपातिक उम्मेदवार बनाएर थारु वस्तीमा चुनावी गतिविधि अगाडि बढाइरहेको छ।
साउद डडेल्धुराबाट कञ्चनपुर बसाइँ सरेका हुन् भने धामी बैतडीबाट कञ्चनपुर आएका हुन्।
वाम गठबन्धनभित्र निर्वाचन क्षेत्र नं २ मा माओवादी केन्द्रका अग्रज नेताहरूबाट टिकट वितरणप्रति दर्शाइएको असन्तुष्टिले साउदलाई लाभ पुग्नेमा कांग्रेस नेताहरू आशावादी देखिएका छन्।
मन्त्री हुँदा निर्वाचन क्षेत्र नं २ मा गरेको विकास निर्माणका कामले पनि साउदलाई केही सजिलो हुने बताइन्छ।
स्थानीय तह निर्वाचनको मत परिणामका आधारमा आफ्नो सहज जित हुने ठान्ने वाम गठबन्धनका उम्मेदवार सडक, खानेपानी, सिँचाइलगायत पूर्वाधार विकासका एजेण्डासहित मतदाताको घरदैलोमा पुगिरहेका छन्।
महाकालीपारि दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माणदेखि महाकालीमा नहर बनाउने प्रमुख एजेण्डासहित आफ्नो दल चुनावी मैदान रहेको र यसपटक कञ्चनपुरमा कांग्रेसको विरासत तोडिने उनी दाबी गर्छन्।
विद्यार्थी राजनीतिमा अनेरास्ववियुको पूर्व केन्द्रीय कोषाध्यक्ष रहिसकेका धामी यसपटक भने मतदाताले न्याय दिनेमा ढुक्क देखिन्छन्।
त्यसैगरी, कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा कांग्रेस नेता रमेश लेखक प्रतिनिधिसभाको उम्मेदवार छन्। अघिल्लो पटक चारवटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा चारवटैमा प्रत्यक्षतर्फ कांग्रेस उम्मेदवारहरूले बाजी मारेका थिए जसमा तत्कालीन निर्वाचन क्षेत्र नम्बर ४ मा नेता लेखक अन्य उम्मेदवारभन्दा फराकिलो मतअन्तरले विजयी भएका थिए।
महाकाली नदी पारिको दोधारा चाँदनी नेता लेखकका लागि यसपटक सहज भएको बताइन्छ। उनले पनि दोधारा चादँनीको चुनावी घरदैलोलाई गति दिइरहेका छन्।
अघिल्लो पटक नेता लेखकसँग पराजित भएका अन्य पार्टीका उम्मेदवारहरू पनि दोधारा चाँदनीलाई केन्द्रित गरेर घरदैलोलाई तीव्रता दिइरहेका छन्।
लेखकसँग वाम गठबन्धनबाट प्रतिनिधिसभाको उम्मेदवार रहेका डा दीपकप्रकाश भट्टले कांग्रेसले लामो समयदेखि यहाँको निर्वाचन क्षेत्रबाट जित्दै आएको भएपनि विकासको केही पनि योजना नल्याएको आरोप लगाए।
दोधारा चाँदनीमै चुनावी घरदैलोलाई तीव्रता दिइरहेका नेता भट्टले आफूले निर्वाचन जिते महाकाली नगरपालिकामा सिँचाइको व्यवस्थाका साथै सुख्खा बन्दरगाह निर्माण गरेर रोजगारीको वातावरण बनाउने बताए।
तर कांग्रेस नेता लेखक भने आफ्नै पहलमा महाकाली नदीमा झोलुङ्गे पुलका साथै नयाँ चार लेनको पुल निर्माणाधीन अवस्थामा रहेको दाबी गर्छन्। सडकदेखि यहाँको पूर्वाधार विकासमा गरेको पहलकै कारण आफूलाई निर्वाचन जित्न सहज भएको लेखकको भनाइ छ।
‘आगामी चार/पाँच वर्षभित्र कञ्चनपुरलाई त्रिदेशीय नाकाका रुपमा विकास गर्न सकिन्छ,’ नेता लेखकले भने,‘अघिल्लो पटक जनताले दिएको जिम्मेवारी हामीले पूरा गरिसकेका छौं।’
भीमदत्तनगरपालिकाका १९ वटा र वेदकोट नगरपालिकाको वडा नं ८ का साथै महाकाली नगरपालिका समेटिएको निर्वाचन क्षेत्र नं ३ मा विगतका निर्वाचनहरूमा दोधारा चाँदनी निर्णायक भूमिकामा देखिएकाले पनि आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा यो ठाउँलाई महत्व दिइएको हो।
त्यसैगरी, कञ्चनपुर निर्वाचन क्षेत्र नं १ मा पनि वाम र लोकतान्त्रिक गठबन्धनबीच रोचक भिडन्त हुने संकेत देखिएको छ।
अघिल्लो निर्वाचनमा कांग्रेसका उम्मेदवार दिवानसिंह विष्ट विजयी भएको उक्त क्षेत्रमा विष्ट र वाम गठबन्धनबाट माओवादी नेतृ बीना मगर चुनावी मैदानमा छन्।
वाम गठबन्धनपछि फेरिएको राजनीतिक परिवेशमा यहाँ दुबै गठबन्धनका उम्मेदवारले आ–आफ्नो जितलाई प्रतिष्ठाको विषय बनाएका छन्।रासस