धनकुटा : ‘ग्रीन कागते, क्लिन कागते’ अभियान शुरू गरेसँगै धनकुटाको कागतेलार्इ कृषि पर्यटकीय क्षेत्रमा विकास हुने भएको छ।
धनकुटा नगरपालिका–३ स्थित कागते बजारबाट चार किलोमिटर टाढा रहेको छ। कागतेलाई पर्यटकीय क्षेत्रमा विकास गर्न नव निर्वाचित जनप्रतिनिधि र स्थानीवासीले अभियान चलाएका छन्।
कागतेलाई पर्यटकीय क्षेत्रमा विकास गर्न त्यहाँको भूगोललाई तीन भागमा विभाजन गरिएको छ। “कागतेलाई वैकल्पिक सहरमा विकास गर्दै मालबासे, चाङलुङगा र सिलुङ्गा क्षेत्रलाई बाख्रापालन पकेट क्षेत्रका रूपमा विकास गर्ने योजना अघि बढाएका छौँ”– धनकुटा नगरपालिका–३ कागतेका वडाध्यक्ष विकास घिमिरेले भने।
कागते र निगाले क्षेत्रलाई पर्यटकीय क्षेत्रमा विकास गर्ने गरी योजना अघि बढाइएको छ। ‘ग्रीन कागते, क्लिन कागते’ अभियानअन्तर्गत कागतेका प्रत्येक घर हरियो रङले पोतिएका छन्। निगाले क्षेत्रका प्रत्येक घरमा पनि अब छिट्टै हरियो रङ पोतिने छ।
“हरियालीलाई विशेष प्राथमिकता दिएका छौँ, घरको छेउछाउमा फूल, धुपी रोप्न शुरू गरेका छौँ” उनले भने।
कागतेलाई पर्यटकीय क्षेत्रमा विकास गर्न बाल उद्यान र वनभोज स्थल निर्माण गरिँदैछ। कागती फलको स्तम्भ पनि त्यहाँ बनाउने योजना छ। अहिले उक्त वडामा बिहानदेखि बेलुका चार बजेसम्म घरेलु मदिरा बिक्री वितरण तथा सेवन गर्न निषेध गरिएको छ।
त्यहाँका स्थानीयवासी कृषिबाटै आत्मनिर्भर बनेका छन्। कागतेका प्रत्येक सामुदायिक विद्यालयलाई नमूना विद्यालय बनाइँदै छ। यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका उम्मेदवारले समेत कागेत क्षेत्रलाई नमूना पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन्। रासस