
धनगढी : प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले पूर्ण बहुमत ल्याउने दाबी गरेका छन्।
नेपाल प्रेस युनियन कैलालीले आज बिहान धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले कांग्रेसको बहुमत आउनेमा कुनै शंका नगर्न आग्रह गरे।
प्रधानमन्त्रीले भने,‘निर्वाचनले देशभर उत्साह थपिएको छ, हाम्रो बहुमत स्पष्ट आउँछ, निश्चिन्त भएर मतदान गर्नुस्।’
निर्वाचनलाई केन्द्रित गरेर अराजक तत्वले देशका विभिन्न ठाउँमा गराइरहेको विस्फोटका घटना निन्दनीय रहेको भन्दै प्रधानमन्त्रीले सानातिना विस्फोटका घटनाबाट सरकार विचलित नहुने बताए।
कतिपय स्थानमा विस्फोटका घटना घटाउनेलाई पक्राउ गरिसकेको र यस्ता अराजक तत्वलाई सरकारले कुनै पनि हालतमा नछोड्ने प्रधानमन्त्रीले दृढता व्यक्त गरे।
निर्धक्क भएर मतदान गर्न सबैसँग आग्रह गर्दै उनले निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताए।रासस