
- नारायण अधिकारी
‘वामगठबन्धन जिताऔँ नागरिक अभियान’ चितवनले आज भरतपुर महानगरपालिका–६ गीतानगरमा आयोजना गरेको प्रचण्डसँग नागरिक समाज कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई कम्युनिष्ट मिल्दा २००७ साल यताकै ठूलो राजनीतिक तरंग आएको बताए।
जनयुद्ध सुरु गर्दा पनि यति ठूलो तरंग राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नआएको भन्दै उनले यो विचित्रको कुरा भएको बताए। प्रचण्डले कम्युनिष्ट मिल्दा एउटा जनमत उत्साहित भएको र अर्को पक्ष विचलित जस्तो नकारात्मक देखिएको बताए।
प्रचण्डले भने,‘ एकातिर कम्युनिष्ट तानाशाही आउँछ भनिएको छ, अर्कोतिर तिनै साथीले कम्युनिष्ट एकता हुनै सक्दैन, भएपनि टिक्दैन चुनावपछि भाँडभैलो हुन्छ भनिरहेका छन्।’
उनले जस्तोसुकै तरंग आएपनि नेपालमा वामपन्थीको सरकार आउने र त्यसले राष्ट्रलाई समाजवादतर्फ लैजाने बताए।
बिपी कोइराला र गिरिजाप्रसाद कोइराला अहिले भएको भए कम्युनिष्ट एकता देखेर खुशी हुने भन्दै प्रचण्डले पार्टी एक हुँदा राष्ट्रलाई फाइदा हुने र देश समृद्धितर्फ अगाडि बढ्ने बताए। उनले विभाजित कांग्रेस पनि सबै एकै ठाउँमा आउन जरुरी रहेको बताए।
राष्ट्र, राष्ट्रियता र स्वाधिनताको मुद्दामा भोलि पनि कांग्रेससँग सहकार्य हुनसक्ने भन्दै प्रचण्डले भने,‘यति धेरै गाली नगर्नुहोस्, भोलि पनि मिल्नुपर्छ, त्यसबेला हात मिलाउन पनि लाज लाग्ने नहोस्।’रासस