काठमाडौं : गत मंगलवार प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने कार्यक्रमलाई लक्षित गरेर बम विष्फोट गराइयो। विस्फोटनमा परी आठ जना घाइते भए भने म्यादी प्रहरी विनोद चौधरीको उपचारको क्रममा निधन भयो।
बुधवार उदयपुरको उदयपुरगढी नगरपालिका-६ मा बम विस्फोट भयो। उदयपुर क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार नारायणबहादुर कार्की गम्भीर घाइते भए। घाइते श्रेष्ठको शिक्षण अवस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।
निर्वाचन सुरु भएदेखि नै देशका विभिन्न स्थानमा बम आतंक छ। मतदातालाई त्रासित बनाउन कतै सुतली बम विस्फोट गराइएको छ भने कतै प्रेसरकुकर बम छाडिएको छ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनको अवधिमा विस्फोटमा परी मृत्यु भएको भने दाङ जिल्लामा मात्र हो। तर त्यसको आतंक देशव्यापी बनेको छ।
निर्वाचन सुरु भएदेखि अहिलेसम्म देशका विभिन्न ३ दर्जन भन्दा बढी स्थानमा विस्फोटन भए। दर्जन भन्दा बढी स्थानमा बमको हल्ला मात्र चल्यो।
शुक्रवार बिहान राजधानीको त्रिचन्द्र कलेज अगाडि शंकास्पद वस्तु फेला परेको भन्दै केही समय वरपरको क्षेत्र त्रासित बन्यो। ट्राफिक प्रहरीले शंकास्पद भन्दै बाटो नै बन्द भएको सूचना जारी गर्योि। सुरक्षा निकायको टोली घटनास्थल पुगेर हेर्दा कुनै पनि विस्फोटन पदार्थ नभएको भेट्यो।
सुतली बमको आतंक धेरै
केही समयदेखि देशभर भएका बिस्फोटमा सबैभन्दा बढी सुतली बम भएको प्रहरीको दावी छ। नेपाल प्रहरीका प्रवक्ता डिआइजी मनोज न्यौपाने भन्छन्, 'अधिकांश ठाउँमा सुतली बम देखियो। त्यसमा पनि घरेलु पदार्थ हालेर बिस्फोटन गराइएको छ।''बम' भन्दै रेड बुलदेखि रंगको बट्टामा बारुद हालेर पड्काउने गरेको पाइएको छ। नेपाल प्रहरीका एक अधिकृत भन्छन्, 'ठूलो घटना गराउने उद्देश्यलेभन्दा पनि त्रसित बनाउन र आफ्नो वर्चश्व देखाउन यस्ता घटना घटाइरहेका छन्।'
बिस्फोट भएका स्थानको अनुसन्धान गर्दा प्रहरीले कतै कतै प्रेसर कुकर भित्र फलाम र तार जोडेर सर्वसाधरणलाई त्रासमात्र फैलाएको भेटाए। प्रेसर कुकरभित्र तिहारमा पड्काउने 'आलु बम' र अन्य पटका समेत हालेर पड्काएको प्रहरीको दावी छ।
दाङ, उदयपुर, रौतहटबाहेक देशका अन्य स्थानमा भएको बिस्फोटमा बम नरहेको प्रहरीको दावी छ। डिआइजी न्यौपाने भन्छन्, 'अहिलेसम्म सुरक्षाकर्मीले फेला पारेका ५ प्रतिशत मात्र सामान्य किसिमका बम हुन्। अरु जनतालाई त्रासित बनाउने काम मात्र भएको छ।'
प्रहरीले देशका विभिन्न स्थानमा शंकास्पथ वस्तु राख्ने र बिस्फोटन गराउने ५ सय जनाभन्दा बढी नेपाल कम्यनिष्ट पार्टी माओवादी विप्लवका कार्यकर्तालाई पक्राउ गरेको छ। अन्य समुहका नेताहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।
निर्वाचनको समय अगाडि देशका विभिन्न स्थान भएका यस्ता घटनाले सर्वसाधारणलाई भयभित त बनाएको छ नै निर्वाचन सुरक्षामा समेत प्रश्न चिन्ह खडा गरेको छ। प्रहरीले भने अहिलेको घटनालाई हेरेर सर्वसाधारणलाई त्रासित नहुन आग्रह गरेको छ। डिआइजी न्यौपाने भन्छन्, 'सुरक्षा व्यवस्था कडा छ निर्धक्क भएर निर्वाचनमा भाग लिनुहोला।'