
- भीष्मराज ओझा
बाँके निर्वाचन क्षेत्र नं २ अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिका र नजिकको डुडुवा गाउँपालिका पर्दछन्। यस क्षेत्रमा प्रतिनिधिसभाका लागि विभिन्न दल र स्वतन्त्र गरी जम्मा १७ जनाले उम्मेदवारी दिएका छन्।
प्रतिनिधिसभाका लागि लोकतान्त्रिक गठबन्धनकातर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका ओमप्रकाश आजाद, वाम गठबन्धनका तर्फबाट स्वतन्त्र उम्मेदवार पशुपतिदयाल मिश्रा र संघीय समाजवादी फोरम नेपालका इस्तियाक राईबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
सबै उम्मेदवार यस क्षेत्रमा सहरी पूर्वाधार विकासलाई मुख्य एजेण्डा बनाएर मतदातालाई आकर्षित गर्न घरदैलो अभियानमा व्यस्त छन्।
उम्मेदवारले नेपालगञ्जलाई प्रदेश नं ५ को राजधानी बनाउने, सुविधा सम्पन्न सहरका रुपमा विकास गर्ने, पर्यटन र उद्योगको हब बनाउने, नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेलगायतका बाचा गर्दै घरदैलो अभियानलाई तीव्र बनाएका छन्।
लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार आजादले नेपालगञ्जलाई प्रदेशको राजधानी बनाउने, नेपालगञ्ज विश्वविद्यालय स्थापना गर्ने, नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने र अन्तर्राष्ट्रियस्तरको सभागृह बनाउने मुख्य प्राथमिक एजेण्डा भएको बताए।
उनले भने,‘म निर्वाचित भएपछि व्यवस्थित समृद्ध र सफासुग्घर सहरका रुपमा नेपालगञ्जको पहिचान बनाउने छु, डुडुवा गाउँपालिकाको समस्या समाधान गर्न तटबन्ध निर्माण, वृद्धभत्ता वृद्धि र उमेर हद घटाउने, पिछडिएको जाति र समुदायको रोजगार तथा आयआर्जनका लागि विशेष प्याकेज कार्यक्रम ल्याउनेछु।’
खानेपानी, शिक्षा, रोजगारी, बाटो, भौतिक पूर्वाधार विकास, विद्युत्, सार्वजनिक शौचालय आदि यस क्षेत्रका मतदाताको मुख्य माग हुन्।
नेपालगञ्ज बाँकेको मात्र नभई मध्यपश्चिमकै प्रमुख सहर हो।
पूर्व प्रधानमन्त्री स्व सुशील कोइरालाले २०७० सालको संविधानसभाको निर्वाचनमा यसै क्षेत्रबाट विजय हासिल गरेका थिए।
वाम गठबन्धनका उम्मेदवार मिश्राले विकास र समृद्धि नै आफ्नो मुख्य चुनावी एजेण्डा भएको बताए। उनी भन्छन्,‘नेपालगन्जलाई पर्यटनको हब बनाउने मेरो लक्ष्य छ, अहिले पनि यो मानसरोवरको प्रवेशद्वारका रुपमा रहेको छ।
अन्तर्राष्ट्रिय विमानस्थल बनाएर भारतबाट सिधै उडान गर्न सके ठूलो मात्रामा पर्यटक भित्र्याई यसै क्षेत्रबाट समृद्धि सम्भव छ।’
नेपालगञ्ज विश्वविद्यालय, प्राविधिक शिक्षा, भेरी अञ्चल अस्पताललाई सरकारी मेडिकल कलेजका रुपमा परिणत गर्ने, जडीबुटी र चिनी उद्योगबाट किसानको उत्थान गर्ने उनको वाचा छ।
बाँकेका क्षेत्रीय निर्वाचन अधिकारी वसन्तराज अधिकारीका अनुसार जिल्लामा १३६ मतदानस्थलमा ३२७ मतदान केन्द्र कायम गरिएको छ। यसअघिका निर्वाचनमा चार निर्वाचन क्षेत्र रहेकामा हाल बाँकेमा तीन निर्वाचन क्षेत्र कायम गरिएको छ।
बाँकेमा दुई लाख ७६ हजार ७१८ मतदाता छन्। क्षेत्र नम्बर १ मा ९८ हजार ३२०, क्षेत्र नम्बर २ मा ८२ हजार ९४९ र क्षेत्र नम्बर ३ मा ९५ हजार ४४९ मतदाता रहेका छन्। जिल्लामा एक उपमहानगरपालिका, एक नगरपालिका (कोहलपुर) र ६ गाउँपालिका गरी आठ स्थानीय तह छन्।
संघीय समाजावादी फोरमका उम्मेदवार राईले पार्टीको घोषणापत्रमा नै उत्पीडित वर्ग, समुदाय, क्षेत्र, भाषा, लिंग पहिचानका आधारमा हुने सबै खाले विभेदको अन्त्य गरी समतामूलक समाजको निर्माण गर्ने उल्लेख रहेको बताए।
राईले यसबाहेक नेपालगञ्जलाई प्रादेशिक राजधानी बनाउने, नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने, सरकारी मेडिकल कलेजको स्थापना गर्नेलगायतका मुद्दा प्राथमिकतामा राखेका छन्।
निर्वाचनको तयारीका लागि जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारीको परिचालनलाई तीव्रता दिएको छ भने सुरक्षा निकायले पनि सक्रियता बढाएको छ।
बाँकेका तीनवटै निर्वाचन क्षेत्रका ३२७ वटा मतदान केन्द्रका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएको छ।
कर्मचारीको खटनपटनको काम अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी दिए। जिल्लामा निर्वाचन विरोधी गतिविधि रोक्ने अभियानसँगै प्रहरीले निर्वाचन बिथोल्न खोज्नेलाई पनि निगरानीमा राखेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङले बताए।
बाँकेका अधिकांश मतदान केन्द्र संवेदनशील र अतिसंवेदनशील मानिएकाले त्यसैअनुरुप कर्मचारीको व्यवस्था मिलाइएको जनाइएको छ।रासस