
काठमाडौं: कानुनी झमेलामा परेको फिल्म 'गाँजाबाजा' युनिटले फिल्म रिलिज टार्गेट तय गरेको छ। फिल्म आउँदो फागुन २५ गतेबाट प्रदर्शनमा आउने भएको हो। चलचित्र विकास बोर्डले फिल्मको नाम लागू पदार्थ सम्बन्धी भएको भन्दै दर्ता गर्न नमानेपछि निर्माण युनिटले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो।
मुद्दाको अझै सुनुवाई भइसकेको छैन। 'हामीले अब आफ्नो लागि बाटो खोजेका हौं। व्यवसाय गर्नेलाई सधैं पेशी सारेर अल्झाएर हुँदैन। आर्थिक पाटोसँगै दर्शकहरु पनि जोडिएका हुन्छन्,' निर्माता नरेश पाण्डेले बताए।
कार्तिक २७ गते रहेको पेशी पैरि पुस सम्मका लागि सरेको छ। निर्देशक एवं निर्माता समेत रहेका गणेशदेव पाण्डे भन्छन्, 'सहमतिमा हामीले रिलिज मिति तय गरेका हौं। हामी त अन्यौलमा पर्यौं पर्यौं दर्शकलाई अन्यौलतामा कति समय राख्नु?'
पाण्डेले चलचित्र विकास बोर्ड फिल्म युनिटको पक्षमा सकारात्मक रहेको बताए। पहिलोपोस्टसँगको कुराकानीमा चलचित्र विकास बोर्डका कार्यवाहक अध्यक्ष रामचन्द्र ढकालले भने, 'हामी फिल्म युनिटको समस्या समाधान हुनुपर्छ भन्नेमा छौं। तर अदालतको निर्णय पर्खिन आवश्यक पनि छ।'
दुई बेरोजगार युवाको कथा हो फिल्म गाँजाबाजा- जो गाँजा खोज्दै भौंतारिन्छन्। त्यसै क्रममा सिर्जना हुन्छ रमाइलो र अन्य अवस्था। र, बज्छ जिन्दगीमा बाजा। यसै विषयको कथा भन्ने फिल्मको प्रोडक्सनको काम भने सकिएको निर्माता नरेशले जानकारी दिए। गाँजाबाजामार्फत् आजको सामाजिक यथार्थको एउटा पाटोलाई चित्रण गरेको बताउँदै फिल्मका निर्देशक पाण्डे भन्छन्, 'लोकतन्त्र र संविधानले दिएको अधिकारको चलचित्र विकास बोर्डले मजाक उडाउँदै हामीमाथि अंकुश लगायो, त्यही कारण गाँजाबाजा नाम राखेर फिल्म बनाउन नपाउने गलत निर्णय भएको हो।'
गणेशदेव पाण्डेले चलचित्र विकास बोर्डको ज्यादतीमा चुप लागे फिल्मकर्मीहरु अफ्ठ्यारोमा पर्ने भन्दै बोर्ड विरुद्ध वैशाख २७ गते रिट दायर गरेका थिए। भन्छन्, 'त्यो हेपाई विरुद्धको लडाई निरन्तर जारी छ। हालको विकास बोर्ड सकारात्मक रहेको र हामीले निर्माण इजाजत प्राप्त गरेकै कारण अब हामीले फिल्म प्रदर्शनको लागि काम गर्न लागेका हौं।'