PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

निर्वाचन विरोधी गतिविधि हुन नदिन चितवनमा प्रहरीको ‘सर्च एण्ड स्वीप अपरेशन’



पहिलोपोस्ट

निर्वाचन विरोधी गतिविधि हुन नदिन चितवनमा प्रहरीको ‘सर्च एण्ड स्वीप अपरेशन’

  • नारायण ढुंगाना 
चितवन :  जिल्ला प्रहरी कार्यालय चितवनले निर्वाचन सुरक्षा योजनाअनुसार हरेक निर्वाचन क्षेत्रमा ‘सर्च एण्ड स्वीप अपरेशन’ सुरु गरेको छ। 

प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालकाअनुसार मतदानको मिति नजिकिएसँगै सुरक्षा चुनौती थपिने भएकाले निर्वाचन पूर्वको सुरक्षा योजनाअनुसार अपरेशन सुरु गरेको जानकारी दिए। 

आजैबाट हरेक निर्वाचन क्षेत्रमा प्रहरीको दुईवटा टोली परिचालन गरिएको छ। ढकालले कुनै शंकास्पद गतिविधि देखिने बित्तिकै प्रहरीले अनुसन्धान थाल्ने बताए। शंकास्पद व्यक्ति र ठाउँ खोजी अभियानसमेत थालिएको छ। 

विभिन्न शंकास्पद ठाउँको पहिचान भएकाले सो क्षेत्रमा प्रहरी परिचालन गरेर आपराधिक क्रियाकलाप र निर्वाचन विरोधी गतिविधि नियन्त्रणका लागि खोजी अभियान चलाइएको ढकालले बताए। 

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बम पड्काउने जस्ता अवाञ्छित क्रियाकलाप गरिरहेकाले अपरेशन टोलीले यस्ता गतिविधिलाई बढी निगरानीमा राखेको छ। 

अन्य जिल्लामा विभिन्न घटना भएपनि चितवनमा अहिलेसम्म यस्ता घटना भएका छैनन्। यसलाई कायम राख्नका लागि प्रहरीले विभिन्न रणनीति अपनाएर सुरक्षा व्यवस्था कडा पारेको छ। प्रहरी उपरीक्षक दीपक थापाले गलत क्रियाकलापको शंका लागेमा आवश्यक सूचना उपलब्ध गराउन सर्वसाधारणसँग आग्रह गरेका छन्। 

गुण्डागर्दी नियन्त्रण, मदिरा नियन्त्रण, लागूऔषध, आपराधिक क्रियाकलाप नियन्त्रण, निर्वाचन विरोधी क्रियाकलाप र हतियार नियन्त्रणसहित विभिन्न पाँचवटा रणनीतिका साथ प्रहरीले जिल्लामा सुरक्षा योजना लागू गरेको छ।

जिल्ला सुरक्षा समितिले चितवनका १६१ मध्ये ५२ मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखेर सोही अनुसारको सुरक्षा व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए।

समितिले निर्वाचन पूर्व, निर्वाचनका बेला र निर्वाचन पश्चातका फरक/फरक सुरक्षा योजना निर्माण गरेर लागू गरेको छ। 

जिल्लामा एक हजार ७१० म्यादी प्रहरी र तीन हजार २९५ जनपद प्रहरी परिचालन गरिएको र आवश्यकताअनुसार नेपाली सेना र सशस्त्र प्रहरीसमेत परिचालन हुने जनाइएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell