नुवाकोट : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुषालले आवास पुनःनिर्माणलाई तीव्र बनाउन प्रत्येक वडामा इञ्जियिनर पठाउन लागेको बताएका छन्।
नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित भूकम्पपीडितले निर्माण गरेको निजी निवास ‘घर सम्पन्न प्रमाणपत्र’ प्रदान गर्न आयोजित कार्यक्रममा भुसालले पुनःनिर्माणलाई तीव्र बनाउन एक हजार १९६ जना इञ्जिनियर पठाउन लागेको जानकारी दिए।
‘भूकम्पले क्षति पुगेका आवास निर्माण शतप्रतिशत भूकम्प प्रतिरोधी बनाउन प्राविधिकको अभाव भएको प्रभावितले गुनासो गरे’ उनले भने,‘मंसिर १६ गते शनिबारदेखि कार्यान्वयन हुनेगरी अतिप्रभावित १४ जिल्लाका १३१ स्थानीय तहको प्रत्येक वडामा एक÷एकजना इञ्जियिनर पठाउन लागेका छौ।’
शनिबारदेखि परिचालन हुने इञ्जिनियर वडा कार्यालयमा बसेर एक जनाले बढीमा पाँच सयजना भूकम्प प्रभावित लाभग्राहीलाई सेवा पुर्याउन जिम्मेवारी दिएर परिचालन गर्न लागिएको छ।
यसअघि साविकको गाविसमा एक÷एकजना इञ्जिनियर परिचालन भए पनि दरबन्दीअनुसार पूर्ति नभएको र भएका पनि जागिर छाडेर अन्यत्र जाँदा आवास निर्माणको काम प्रभावित हुँदै आएको थियो।
पुनःनिर्माण प्राधिकरणले मंसिर १८ गतेसम्म वडा कार्यालयमार्फत तालिम माग गर्नेलाई एक साताको कालीगढ तालिम निःशुल्क प्रदान गर्न लागेकाले पुस मसान्तसम्म ५० हजार नयाँ जनशक्ति उत्पादन गर्ने महत्वकांक्षी योजना बनाएको छ।
प्रमुख कार्यकारी अधिकृत भुसालले आवास पुनःनिर्माणमा उत्पन्न समस्या समाधानका लागि काठको सहज उपलब्ध गराउन, निर्माण सामग्री (ढुंगा, गिट्टी, बालुवा) स्थानीय तह मार्फत निःशुल्क उपलब्ध गराउन तथा सहुलियत दरमा व्यवस्था गर्न, आवास निर्माणको नक्सापास निःशुल्क र एक साताभित्रै गरिदिनस्थानीय तहका प्रमुख एवं कर्मचारीलाई निर्देशन दिए।
यस्तै, पुनःनिर्माण प्राधिकरणका प्रवक्ता यमलाल भुसालले भूकम्प प्रभावित भएर लाभग्राहीमा समावेश हुन छुटेकालाई मंसिर मसान्तसम्म स्थानीय तहमा निवेदन दिएमा पुनःजाँच गर्ने व्यवस्था मिलाएको बताए।रासस