PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

डबल ह्याट्रिक गर्ने तयारीमा विजय गच्छदार, कसरी टक्कर दिँदैछिन् महिला नेतृ भगवती चौधरी ?



अनन्तराज न्यौपाने

डबल ह्याट्रिक गर्ने तयारीमा विजय गच्छदार, कसरी टक्कर दिँदैछिन् महिला नेतृ भगवती चौधरी ?

विराटनगर :  उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार सुनसरीको क्षेत्र नम्बर ३ बाट यस पटक डबल ह्याट्रिक गर्ने तयारीमा जुटिरहेका छन्।

प्रजातन्त्र पुनःस्थापनापछि २०४८ को पहिलो आमनिर्वाचनदेखि हरेक चुनावमा सुनसरी–३ लाई आफ्नो किल्लासरह सुरक्षित राख्दै आएका गच्छदार यसपटक पनि चुनावमा बाजी मार्नेमा विश्वस्त छन्।

मङ्सिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा उनले यस क्षेत्रबाट जिते भने लगातार ६ पटक विजयको माला पहिरिनेछन्। सत्ता राजनीतिका चतुर र कुशल खेलाडी गच्छदार २०४८ पछि सबैभन्दा बढी सत्तासयर गर्ने नेतामा पर्छन्।

घुक्र्याएर हिँडेको छोरो केही गर्न नसकेर घर फर्किएझैँ नेपाल लोकतान्त्रिक फोरमबाट उनी ११ वर्षपछि नेपाली काङ्ग्रेसमा फर्किएका हुन्। 

२०४८ यताका अधिकांश सरकारमा ‘मालदार मन्त्रालय’ मा रहन सफल विजयकुमार दोस्रो जनआन्दोलन २०६२/६३ को सफलतापछि आफ्नो माउ पार्टी नेपाली काङ्ग्रेसबाट पहिलो पटक चुनाव लड्दैछन्।

यस पटकको निर्वाचनमा बाठा रणनीतिकार उनलाई नेपाली काङ्ग्रेस अपरिहार्य भइसकेको थियो। निरन्तर खिइँदै गएको नेपाल लोकतान्त्रिक फोरमबाट मात्र सुनसरीको क्षेत्र नम्बर ३ मा यी हेभिवेटले विजयको झण्डा फहराउनु असम्भव भइसकेको थियो। यसबाहेक उनको पार्टीले ३ प्रतिशत मत पुर्‍याएर राष्ट्रिय राजनीतिक दलको हैसियत प्राप्त गर्ने अवस्था पनि थिएन। 

त्यसैले लोकतान्त्रिक फोरमका अन्य धेरै नेताको वर्तमान र भविष्यलाई अन्यौल र अन्धकारमा पारेरै उनले लोकतान्त्रिक फोरमलाई नेपाली काङ्ग्रेसमा समायोजन गराए। 

यस पटक चारतारे नपक्रिएका भए गच्छदारले विजयको अबिर लगाउन पाउने थिएनन्। किनकि एमालेकी भगवती चौधरीसित उनले दोस्रो संविधानसभा २०७० मा ५ सय मत अन्तरले मात्र जितेका थिए र उनै भगवती फेरि यस पटकको चुनावमा वाम गठबन्धनकातर्फबाट बलियो चेतावनीका साथ हुङ्कार गरिरहेकी छन्।

अर्कातिर विजयलाई जसरी पनि पार्टीमा ल्याउन काङ्ग्रेसका मोरङवासी तीन केन्द्रीय सदस्य महेश आचार्य, डा. मीनेन्द्र रिजाल र डा. शेखर कोइराला आतुर थिए।

किनकि स्थानीय तहको निर्वाचनलाई आधार मान्दा आचार्य, रिजाल र कोइरालाका क्षेत्रमा वाम गठबन्धनको मत नेपाली काङ्ग्रेसको भन्दा धेरै देखिन्थ्यो। र, गठबन्धनको मतलाई चुनौती दिन गच्छदारको काङ्ग्रेस प्रवेश जरुरी थियो ।

यसप्रकार गच्छदारलाई आफ्नो राजनीति जीवित बनाइराख्न काङ्ग्रेस चाहिएको थियो र काङ्ग्रेसका केही नेतालाई चुनावी विजयका लागि नेता विजयको आवश्यकता थियो।

गच्छदार पहिलो संविधानसभा २०६४ मा नेपाली काङ्ग्रेस छाडेर उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमको उपाध्यक्ष हुन गएका थिए। मधेसवादी दलमा भएको तीव्र विभाजनसँगसँगै दोस्रो संविधान सभाको निर्वाचन २०७० मा उनी नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष भइसकेका थिए।

यस पटक मातृपार्टीमा फर्किएसँगै इटहरीका राप्रपा नेता रामकुमार सुब्बाको पनि साथ पाएपछि गच्छदारले अझ निश्चितताको अनुभव गरेका छन्। 

विजय मधेसी फोरम र लोकतान्त्रिक फोरममा रहँदा पनि काङ्ग्रेस कार्यकर्तालाई मद्दत गर्थे। काङ्ग्रेस, महिला सङ्घ र नेविसङ्घका महाधिवेशनमा काठमाडौं जाने धेरै प्रतिनिधिलाई विजयले आफू अलग पार्टीमा रहेर पनि आर्थिक सहायता एवम् राजधानीमा खानेबस्ने व्यवस्था गरेका थिए। 

त्यसैले १२ वर्षपछि खोलो पनि फर्कन्छ भनेझैँ ११ वर्षपछि काङ्ग्रेस फर्किएका विजयलाई मोरङ र सुनसरीका काङ्ग्रेस जनले सहज स्वीकार गरे।

उनको व्यक्तित्व जति विवादग्रस्त भए पनि सह पाउने कार्यकर्ताका लागि विजय दानवीर कर्णझैँ प्रस्तुत हुन्छन्। 

त्यसोत, उनलाई आर्थिक अनियमिततादेखि शाही कालमा राजासित मिलेको तथा खुमबहादुर र जयप्रकाशजस्ता नेता अख्तियारको पञ्जामा पर्दा पनि ज्ञानेन्द्रको कृपाले बचेकोजस्ता आरोप लगाउनेहरू पनि काङ्ग्रेसमै छन्।

विचार, सिद्धान्त, आस्था र निष्ठाको राजनीति मक्किदै गएको काङ्ग्रेसमा विजयजस्ता त्याग, योगदान र सङ्घर्षको पनि इतिहास बोकेका र सत्तालाई समयअनुकूल जसरी पनि चलाउन सक्ने नेताको बोलबाला हुनु अस्वाभाविक होइन। 

थारू जातिको बाहुल्य रहेको यस क्षेत्रमै उनले विकासनिर्माणदेखि रोजगारीसम्मका धेरै काम गरेका छन्। त्यसैले उनको पकड बलियो छ।
वाम गठबन्धनबाट एमालेका उम्मेदवार भगवती चौधरी पनि यस क्षेत्रका लागि कमजोर र फिदर वेट होइनन्।

फरवार्ड माइक्रो फाइनान्सबाट घरघरका गरिबलाई लघु ऋण दिएर चर्चित र सुनसरीका लागि हेभी वेट बनेकी भगवती विजयलाई भ्रष्टाचारी नेता भनेर आरोप लगाउँछिन्।

प्रत्युत्तरमा विजय भगवतीलाई गरिबमारा नेतृ भनिरहेका छन्।

विजय र भगवती यही दुबै निम्न आर्थिक हैसियत भएको परिवारमा जन्मिएका हुन्। अहिले दुबैको हैसियत मुलुकको कुनै उच्च धनाढ्य र सम्भ्रान्तको भन्दा कम छैन। 

फरवार्डका माध्यमबाट भगवतीले लघु ऋणमा ठूलो सफलता हासिल गरेकी छन्। दुहबी बजारमा फरवार्डको ७ तले गगनचुम्बी घर बन्दैछ। एमाले केन्द्रीय सदस्यसमेत रहेकी उनले विभित्र हाइड्रो पावरमा मेत लगानी गरेकी छन्। नेपालका उच्च शेयर मूल्य भएका माइक्रो फाइनान्समा फरवार्ड पनि एक हो।

नेपालका थोरै भाग्यमानी नेतामध्ये एक विजयलाई टक्कर दिइरहेकी भगवती २१ गतेको निर्वाचनले गच्छदारको किल्ला भत्काउन सकिने कुरामा पूर्ण विश्वास प्रकट गर्छिन्।

विजयलाई सुनसरीका लालु यादव पनि भत्रे गरिन्छ। लालुलाई विहारका जनताले ब्यालेटबाटै अपदस्थ गरेको उदाहरण दिँदै आफ्ना चुनावी सभामा भगवती विजयले पनि यस्तै नियति भोग्नुपर्ने चेतावनी दिइरहेकी छन्।

पूर्व वन राज्यमन्त्रीसमेत रहेकी चौधरीले सुनसरी क्षेत्र नं. ३ का अमाहीबेल्हा, बर्जु गाउँपालिका क्षेत्रका जनता अहिले पनि कष्टपूर्ण रूपमा जीवनयापन गर्नु पर्ने अवस्था आउनुमा गच्छदार जिम्मेवार भएको आरोप लगाएकी छन्।

कृषिका लागि अत्यन्त उर्वर भएपनि यो क्षेत्रमा आधुनिक कृषि प्रणाली भित्र्याउन नसक्नुमा गच्छदार जिम्मेवार भएको उल्लेख गर्दै भगवतीले गच्छदारलाई ‘भिजन नभएको नेता’ भत्रे विशेषण दिइन्।

क्षेत्र नम्बर ३ ले सुनसरीको सदरमुकाम इनरुवा, चौबाटामा पर्ने इटहरी र धरान रोडमा रहेको दुहबी गरी ३ नगरपालिकालाई छोएको तथा बर्जु र गढी गाउँपालिकालाई समेत आफूलमा समाहित गरेको छ ।

कुल १ लाख ९ हजार ९ सय १७ मतदाता रहेको यस क्षेत्रमा स्थानीय तहको मतका आधारमा भगवतीको वाम भन्दा विजयको लोकतान्त्रिक गठबन्धन १३ हजार मतले अगाडि देखिन्छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell