PahiloPost

May 14, 2024 | १ जेठ २०८१

मधेश आन्दोलनका शहीद परिवार भोट माग्‍न व्यस्त



बीपी साह

मधेश आन्दोलनका शहीद परिवार भोट माग्‍न व्यस्त

  • बीपी साह/राधेश्याम पटेल -
वीरगंज : वीरगंज महानगरपालिका १६ नम्बर वडाका सदस्य छिन् विनिता कुमारी। २२ वर्षीया विनिता अहिले भोट माग्न घरदैलो कार्यक्रममा व्यस्त छिन्। 

बिहान उठेपछि उनी पार्टीका लागि आफ्नो वडा र आसपासका क्षेत्रमा समूह बनाएर भोट माग्दै हिँड्छिन्। उनले चलाउँदै आएको चिया पसल पनि केही दिनदेखि बन्द छ। बिहानै पार्टीको काममा निस्किनु परेकाले चिया पसल बन्द राखेको उनी बताउँछिन्।

उनका दुई छोरा छन् - राजन गुप्ता पाँच वर्षका र रबि गुप्ता दुई वर्षका। जेठो छोरा विद्यालय जान्छन् भने कान्छोलाई उनकी सासुले हेरचाह गर्छिन्। प्रखर बन्दै गएको छ यिनको बोली।

विनितालाई एक वर्षअघि तेस्रो मधेश आन्दोलनका क्रममा भेट्दा विक्षिप्त अवस्थामा थिइन्। उनीसँग जोसुकै भेटोस् रुने र कराउने गर्थिन्। कारण थियो, उनको पति सोहन साहको मृत्यु। तेस्रो मधेश आन्दोलनका क्रममा प्रहरीको गोलीबाट मारिएका थिए सोहन।

सामान्य परिवारका सोहन वीरगंजको नगवामा चिया पसल गर्दै आएका थिए। उनलाई पत्नी विनिताले सहयोग गर्दै आएकी थिइन्। सोहन मारिएपछि विनिताको पसल धेरै दिनसम्म बन्द नै रहेको थियो। मधेशवादी राजनीतिक दलका नेताहरुले विभिन्न कार्यक्रममा बोलाउने गरेका थिए। 
अहिले विनिता संघीय समाजवादी फोरम नेपालमा सक्रिय छिन्। सोही पार्टीबाट उनले महानगरपालिकाको वडा सदस्यमा जित हासिल गरिन्। सोहन मारिएपछि स्थानीय फोरम नेता प्रदीप यादवले सहयोग गरेका थिए। अहिले विनिता सोही पार्टीमा छिन्। चुनावी माहोलमा उनको दिनचर्या नै फेरिएको छ।

शुक्रवार वीरगंजमा पहिलोपोस्टको टिमसँग भेट्दा उनी निकै हौसिएकी थिइन्। उनले भनिन्, ‘अहिले भोट माग्न जाँदा सबैले चिन्छन्। शहीद सोहनको श्रीमती हो भनेर सम्मान गर्छन्। अब राजनीतिमा लागेकी छु। हेरौं कति अगाडि बढ्न सक्छु?’

तेस्रो मधेश आन्दोलनका क्रममा वीरगंजमा आठ जना मारिएका थिए। सोहनको टाउकोमा गोली लागेको विभत्स फोटो समाजिक सञ्जालमा भाइरल हुँदा आन्दोलनकारी झनै आक्रमक भएका थिए। सोही क्रममा थप एक जनाको विद्यार्थीको यहाँ मृत्यु भएको थियो।

त्यस्तै, पर्साकै सत्रुघन पटेलकी आमा पनि गाउँपालिकाको उप प्रमुख भएकी छिन्। पकहा मैनपुर गाउँपालिकामा उनलाई फोरम नेपालले टिकट दिँयो, उनी उप प्रमुख भइन्।

सामान्य परिवारका सत्रुघन दिल्लीमा सिलाइको काम गर्दै थिए। घर छुट्टीमा आएका बेला आन्दोलन चलिरहेको थियो। त्यही सहभागी हुन् वीरगंज पुगे। आन्दोलनका क्रममा गोली लाग्दा उनी मारिए।

अहिले उनकी आमा उप प्रमुख छिन्। पढाइगुनाइबाट टाढै रहेकी उनी दलित परिवारबाट आएकाले पार्टीमा सक्रियता बढ्दो छ। 
तस्बीर : पीके झा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell