PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

वाम गठबन्धन एक दलीय तानाशाही व्यवस्था ल्याउने प्रयासमाः प्रधानमन्त्री



पहिलोपोस्ट

वाम गठबन्धन एक दलीय तानाशाही व्यवस्था ल्याउने प्रयासमाः प्रधानमन्त्री

धनगढी : प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमा मात्र जनता मालिक हुने भएकाले लोकतान्त्रिक शक्ति कांग्रेसलाई चुनावमा सघाउन आग्रह गरेका छन्। 

नेपाली कांग्रेसले आज डोटी र अछामका चार ठाउँमा आयोजना गरेको छुट्टाछुट्टै चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले जनतालाई मालिक बनाउने पार्टी नै कांग्रेस भएको बताए। 

जनताको ठूलो त्याग र बलिदानबाट बनेको समावेशी संविधानलाई कार्यान्वयन हुन नदिने षड्यन्त्र भइरहेको जिकिर गर्दै प्रधानमन्त्रीले वाम गठबन्धनले एक दलीय तानाशाही व्यवस्था ल्याउने प्रयास गरेको आरोप लगाए। 

उनले भने, “एक दलीय तानाशाही व्यवस्थामा जनताको हक अधिकार नहुने मात्र नभई डर त्रासमुक्त समाज हुन सक्दैन।” उनले सुदूरपश्चिमबाट आफू प्रधानमन्त्री भएमा यस क्षेत्रका बासिन्दाले विकासका लागि आफूसँग झगडा गर्ने हक अधिकार रहेको उल्लेख गरे। 

संविधानको सफल कार्यान्वयन, विकास र समृद्धिका लागि पनि कांग्रेसले चुनावमा जित्नु पर्ने उनको भनाइ थियो। ७ नं प्रदेशको विकासमा ठूलो महत्व राख्ने पश्चिम सेती परियोजना निर्माणका लागि चीनको एक कम्पनीसँग सम्झौता भइसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले खप्तडलाई पर्यटकीय क्षेत्र बनाउन र यस क्षेत्रमा सडक र कृषि क्षेत्रको विकासका लागि आफूले पहल गर्ने आश्वासन दिए। 

प्रधानमन्त्रीले आज डोटीको बोगटान र सायल तथा अछामको मंगलसेन र साँफेबगरमा भएका छुट्टाछुट्टै चुनावीसभालाई सम्बोधन गरेका थिए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell