
म्याड्रिड : स्पेनको क्याटलोनिया सरकारका पूर्व सदस्यहरु मध्ये आठ जना शुक्रबार फेरि सर्वोच्च अदालतमा उपस्थित भएका छन्।
उनीहरूलाई जेलबाट रिहा गर्न विभिन्न क्षेत्रबाट आग्रह भएपछि अदालतमा उपस्थित गराएको हो। अदालतमा उपस्थित हुनेहरुमा पूर्व उपनेता ओरिओल जुनक्वेरास पनि रहेका छन्।
देशद्रोह, विद्रोह र पृथकतावादी आन्दोलन चलाएको तथा राज्यकोषको दुरुपयोग गरेको भन्दै सरकारले उनीहरु विरुद्ध अदालतमा मुद्धा दायर गरेको थियो।
उनीहरूले गत अक्टोबरमा क्याटलोनियालाई स्वतन्त्र राज्यका रुपमा घोषणा गरेपछि सरकारले उनीहरू विरुद्धमा कारबाही चलाएको हो ।
स्पेनको संविधानको धारा १५५ अनुसार प्रधानमन्त्री मारिआनो राजोएले उनीहरूलाई निलम्बन गरी क्यटलोनीया प्रदेशलाई केन्द्रीय सरकारको प्रत्यक्ष नियन्त्रणमा लिएका छन्।
क्याटलोनीयामा उनले नयाँ सरकार गठनका लागि यही डिसेम्बर २१ मा निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। रासस/सिन्ह्वा