
- बीपी साह/पीके झा
पटेल नेपालको इतिहासमा विकास निर्माणको माग राखी आन्दोलन गर्दा मारिने पहिलो शहीद हुन् । ऐतिहासिक स्थल भए पनि विकास निर्माणको आधारमा निकै पछाडि रहेको सिम्रौनगढको गण्डक नहरको बाटोलाई बरियारपुर र सदरमुकाम कलैयासम्म जोड्न माग राखी आन्दोलन हुँदै आएको थियो।
आन्दोलनमा सहभागी भएका सिम्रौनगढका पटेलको छातीमा प्रहरीको गोली लाग्दा घटनास्थल मै मृत्यु भएको थियो। उनको मृत्यु पछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सडक निर्माण गरिने वाचा गरेर फर्किए।
तर वाचा पूरा भएन। सडकको अवस्था झनै बिग्रिएको छ। प्रचण्डमात्र हैन अरु पार्टीका नेताहरुले पनि ठूल्ठूला आश्वासन दिएर आएका थिए। तर अवस्था जस्ताको त्यस्तै छ।
शहीद पटेलको घरमा पुगेको पहिलोपोस्ट टिमसँग भाइ रामनारायण पटेलले भने, ‘दाइको मृत्यु भएपछि प्रचण्ड आएर ठूलो आश्वासन दिएर जानुभयो। उहाँले तत्कालै सडक निर्माण अगाडि बढ्ने बताउनु भयो। तर वर्षौ भइसक्यो सडक झन् मरघट हुँदैछ।’
‘नेताहरुले दाइका छोरीलाई पढाउने लेखाउने र रोजगारी दिलाउने भनेर गएका थिए,’ भाइ पटेलले भने, ‘तर उहाँलाई सहिद घोषणा गरिए पनि अहिलेसम्म कुनै डकुमेन्ट दिएको छैन। फर्केर कोही हेर्न आएको छैन।’
फोटोसमेत मागेर लान्छन्
अहिले चुनावको बेला प्रथम विकास शहीद पटेलको फोटो राखेर भोट माग्ने नेताहरुको संख्या ठूलो नै छ। प्रतिनिधि सभाको एक नम्बर क्षेत्रमा पर्ने यो ठाउँका अधिकांश उम्मेदवारहरुले शहीद पटेलेको सपना पूरा गर्ने बताउँछन्। विकास निर्माणको काम अगाडि बढाउने दाबी गर्छन्।‘नेताहरुले हाम्रो घरमा रहेको एउटा फ्रेमवाला फोटो लिएर जान्छन्। त्यही फोटो सबै पार्टीको कार्यक्रममा जान्छ। उनीहरुले आफ्नो पैसाले फोटो पनि बनाउँदैनन्,’ पटेलका भाइले भने।
रोचक कुरा के छ भने विभिन्न पार्टीका नेताहरु एक पटक मात्र त्यस गाउँमा भोट माग्न जाने गरेका छन्। नेताहरु भोट माग्न जाँदा गाउँलेहरुले शहीद पटेलको कुरा उठाउँछन्। विकास निर्माणको कुरा उठाउँछन्। आन्दोलन ताका बाँडिएको आश्वासन अहिलेसम्म पूरा नभएपछि स्थानीयबासीहरु उम्मेदवारप्रति आक्रामक हुन्छन्।
स्थानीय डा।कमरुल्लाह अन्सारीले भने,‘शहीद पटेलको नाम भजाउने धेरै भए तर सडक बनाउने कोही भएन। सबै अलमलमा छन् भोट कसलाई दिने भनेर ।’
यो क्षेत्रमा राजपाका रामकिशोर यादव, कांग्रेसका उमाकान्त चौधरी र वाम गठबन्धनका अच्युत मैनाली उम्मेदवार छन्।
शहीद परिवारको बिच्चली
शहीद पटेलका पाँच जना छोरी छन् भने एक जना छोरा छन्। सामान्य किसान परिवारको भएकाले आर्थिक रुपमा पनि कमजोर छन्। एक मात्र छोरा रोगले ग्रस्त छन्।शहीद घोषणा भएपछि उनको परिवारले पाएको दश लाख बाहेक सरकारबाट कुनै सहयोग पाएका छैनन्। झन् शहीद प्रमाणित गर्ने खालका दस्तावेज अहिलेसम्म घर परिवारलाई उपलब्ध गराइएको छैन।
छोरीहरुको विवाहका लागि शहीद पटेलकी श्रीमति चिन्तित छिन्। छोराको रोगले उनी झनै पिरोलिएकी छन्।त्यस्तै, सोही आन्दोलनमा घाइते भएका शाह मोहम्मदको अवस्था पनि दयनीय छ।