काठमाडौँ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान निर्माणको नेतृत्व गरेको पार्टीले नै समृद्धिको नेतृत्व गर्ने बताएका छन्।
कांग्रेस काठमाडौँ क्षेत्र नम्बर एकले आज नयाँ बानेश्वरमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले कांग्रेसको नेतृत्वमा मुलुकले समृद्धि पाउने बताए ।
उनले भने,‘चार जना कम्युनिष्ट सरकारले बनाउन नसकेको संविधान कांग्रेसको नेतृत्वमा निर्माण भयो, अब समृद्धिको अभियान पनि कांग्रेसकै नेतृत्वमा हुन्छ।’
नेता सिंहले कम्युनिष्टमा धेरै बोल्ने तर काम नगर्ने बानी रहेको आरोप लगाए। मुलुकको विकासका लागि अरु पार्टीसँग कांग्रेसको तुलना गर्न नमिल्ने उनको भनाइ थियो ।
सिंहले अवसर पाउँदा काम नगर्ने अनि अर्काले गर्न लागेको काम बिगार्ने कम्युनिष्टको चरित्र भएको बताए। उनले प्रश्न गरे,‘अरुण तेस्रो जलविद्युत् आयोजना कुन दलका कारण रोकिएको हो?’
उनले काठमाडौँ क्षेत्र नं १ को विकासमा गर्न बाँकी रहेका कुरालाई पूरा गरेर नमूना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरे। रासस