PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

आखिर के चाहन्छ उत्तर कोरिया ?



पहिलोपोस्ट

आखिर के चाहन्छ उत्तर कोरिया ?

  • एकराज पाठक 
काठमाडौँ :  संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिकालगायत संसारका धेरै देशको आग्रह एवं आणविक शस्त्रको विरोध हुँदाहुँदै उत्तर कोरियाले बुधबार अर्को शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि पुनःएकपटक विश्वमा यसको चर्चा चलेको छ। 

विगतदेखि नै आणविक परीक्षणलाई मानौँ कि आफ्नो एक प्रमुख काम जस्तोगरी निरन्तरता दिएको उत्तर कोरियाले विश्व समुदायको आग्रह र निन्दाको पनि वास्ता गरेको जस्तो देखिँदैन।

मात्र ऊ आफ्नो यस्तो काममा व्यस्त छ कि यस्ता परीक्षण पहिलेको तुलनामा यो कति शक्तिशाली छ र यसबाट अमेरिका वा अर्को कुनै देशको कहाँसम्म हान्न पुग्छ।

साढे दुई महिनासम्म लगभग शान्त जस्तो देखिएको उत्तर कोरियाले बुधबार बिहानदेखि क्षेप्यास्त्रको होडलाई पुनःविवादमा ल्याइदिएको छ। यसबाट विश्वमा नै चिन्ता र चासो दुवै थपिएको छ। 

तेत्तीस वर्षीय उत्तर कोरियाली शासक किम जोङ उनले एकपछि अर्कोगरी जारी राखेको आणविक अश्त्रको भित्री ध्येय अमेरिकालाई धम्की दिनु बढी हो।

पछिल्लो पटक परीक्षण गरेको हाइड्रोजन मिश्रित परीक्षणले विश्वमा उत्तेजना बढाउनेमात्र काम गरेको थियो। बुधबारको यो परीक्षणले भने चिन्ता थपिदिएको छ। किनभने यसलाई अहिलेसम्मकै शक्तिशाली भनिएको छ।

अर्कोतर्फ उत्तर कोरिया आफैँले पनि अमेरिकाको जुनसुकै भूभागमा पनि सजिलै पुग्नसक्ने र शक्तिशालीरुपमा मार हान्न सक्ने परीक्षण भनेको छ। 

अमेरिकाले उसको गठवन्धन प्रयोग गरी आफ्ना विरुद्धमा गर्नसक्ने कारबाहीका लागि पनि आफू रक्षात्मक अवस्थामा छु भनेर उत्तरले यो पछिल्लो परीक्षणबाट प्रमाणित गर्न पनि खोजेको देखिएको छ। 

हुनत यसअघिको हाइड्रोजन मिश्रित परीक्षण पनि यसैको उपजका रुपमा धेरैले अड्कल गरेका थिए। र अहिले पनि उm आफैँले आफू अब आणविक शक्ति सम्पन्न राष्ट्र भएको घोषणा सगर्व गरेको छ। 

बुधबारको परीक्षण पछि उत्तर कोरियाली नेता किमले भनेका छन्, हामी अब आणविक शक्ति सम्पन्न राष्ट्र भएका छौँ, हामी अब पूर्णरुपमा रक्षात्मक अवस्थामा रहन सक्ने भएका छौँ। 

करिब साढे दुई महिनाअघिको शक्तिशाली परीक्षणले अमेरिकासँगको मोलमोलाई (ब्ल्याक मेलिङ) मात्र नभएर विश्वका नेता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि चिनफिङले आफूलाई उत्तिकै व्यवहार गरुन, वार्तामा बोलाउन र आफूले कुनै शर्त राखेर यो अश्त्रको होडलाई गाह्रोगरी स्थगित गर्ने बचन दिनसकुँ भन्ने भित्री ध्येय उत्तर कोरियाली नेता किमको रहेको बिश्लेषण गरेका थिए। 

दक्षिण र उत्तर कोरिया सन् १९५३ को युद्धपछि टुक्रिएका हुन्। त्यसयताको उनीहरुबीच सम्वादभन्दा शत्रुता बढ्दो छ। जसलेगर्दा दक्षिण कोरिया उत्तर भन्दा बढी अमेरिकासँग नजिक छ। एकीकरणको आवाज बेला बेलामा आउछ तर निकै मधुरो छ।

त्यो पनि उत्तरका शर्तले गर्दा दक्षिणको आवाजै दबिने गर्छ । जुन उत्तरलाई मन परेको छैन। अब आवाजले भन्दा पनि हतियारले चर्को बोल्ने प्रयत्न उसको हुनसक्छ। 

अहिलेसम्मका सबै परीक्षणमध्ये पछिल्लो क्षेप्यास्त्र सबैभन्दा शक्तिशाली रहेको विश्लेषकले बताएका छन्। उत्तर कोरियाले गरेको दाबीअनुसार यो अमेरिकी महादेशसम्म नै मार हान्नसक्ने शक्तिको रहेको छ। 

उक्त क्षेप्यास्त्र पाँच हजार ४७५ मिटरको उचाइसम्म पुगेको थियो। यो क्षेप्यास्त्र करिब ५३ मिनेटमा ९५० किलोमिटर टाढासम्म पुगेको थियो। यो क्षेप्यास्त्र यसअघि जस्तो जापानी भू–भागको माथिबाट भने नगएको बताइएको छ।

तर यो जापानी समुद्रमा खसेको थियो। यसअघि उसले हानेको क्षेप्यास्त्र भने जापानको आकासबाटै उडेको र समुद्रमा खसेको थियो। 

यो पछिल्लो भने संयुक्त राज्य अमेरिकाको भूमिसम्म नै भेट्नेगरी लामो दूरीसम्म मार हान्ने क्षमताको भएको जनाएका छन्। उसले यसैवर्षको जुलाई महिनामा पहिलो पटक अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र हानेको थियो। 

उत्तर कोरियाको आणविक कार्यक्रमबारे विश्वव्यापीरुपमा नै तनाव बढिरहँदा करिब साढे दुई वर्षपछि फेरि यो अर्को क्षेप्यास्त्र परीक्षण गरेर उत्तर कोरियाले तनाव झन थपिदिएको छ। 

सो परीक्षणस्थलको निरीक्षणपछि उत्तर कोरियाली नेता किमले भनेका छन्– आजको परीक्षण निकै शक्तिशाली छ, यसले अमेरिकाको सबै भू–भागसम्म हान्न सक्छ, त्यसैले म आज गर्वका साथ यो भन्न सक्छु कि हामी अब भने आणविक शक्तिराष्ट्र भएका छौँ। यसले हाम्रो देशलाई अमेरिकाको जस्तोसुकै आक्रमणका विरुद्धमा पनि बचाउन सक्नेछ। 

आखिर उत्तर कोरिया के चाहन्छ त ? किन यसरी विश्व समुदायको आग्रह र निन्दाकाबीच पनि यस्तो परीक्षण गर्ने गरेको छ ? विश्लेषकहरु भन्छन्— उत्तर कोरिया विश्व समुदायमा बलियो उपस्थिति चाहन्छ।

यस्तो उपस्थितिको स्थान उसले अरु हिसाबले बनाउन नसकेपनि हतियारको सहारा लिएको हो। तर हतियारकै भाषा भएपनि अन्तर्राष्ट्रिय समुदायले बुझिदिनुपर्ने तर्क धेरैको छ।

हतियारले नै सम्वाद गरिदिँदा यसले अर्को युद्धको खतरा जन्माउन सक्ने उनीहरुको तर्क छ। त्यसैले उनीहरु यसको समाधानका लागि कूटनीतिक संवाद आवश्यक ठान्दछन्।

उसको यो हतियारको उपस्थितिलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा सोच्न विश्वका शक्ति राष्ट्रहरुको दिमागमा यतिखेर चिन्ता पनि थपिएको छ। कतिपय त भन्छन् कि-यसैमा पनि उत्तरले आफ्नो जित देखेको हुनसक्छ। 

त्यसो त उत्तरको पछिल्लो परीक्षणपछि संसारको कुनै पनि देश उसको पक्षमा छैन, देखिँदैन। यो हतियारको दम्भ नै हो र यसलाई कुनै न कुनै रुपले कानुनी दायरामा ल्याउनुपर्ने संसारले भनेको छ।

तर ती सबै भनाईहरु यसअघिका परीक्षणहरुजस्तै परम्परागत रुपमा मात्र आएका छन्।उही नाकाबन्दी, उही संयुक्त राष्ट्रसंघको निन्दा र तिनै छिमेकीको आक्रोस।

तर यतिले मात्र अबको समस्या समाधान गर्न नसक्ने धेरैको सर्वेक्षण छ। त्यसैले सश्त्रास्त्रको होड रोक्न नै विश्व एकहुनु जरुरी छ। 

उत्तर कोरियाले बारम्बार गर्ने गरेको र एकपछि अर्को शक्तिशाली क्षेप्यास्त्र हान्ने गरेको यस घटनाले विश्वमा नै हतियारको होडबाजी बढ्ने र यसले नागरिकको शान्तिको चाहनामा गम्भीर असर पार्ने चिन्ता विश्वब्यापीरुपमा बढाउने चिन्ता व्यक्त गरिएको छ।

केही समयमात्र अघि पनि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा बोल्दै अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले उत्तर कोरियाको परमाणु कार्यक्रमविरुद्ध कदम चाल्न नसक्ने हो भने त्यसले घातक परिणाम ल्याउने चेतावनीसमेत दिएका थिए। 

एकातर्फ अमेरिका उत्तर कोरियाको यस्तो आणविक महत्वाकांक्षालाई निस्तेज पार्नका लागि चीनले नै प्रभावकारी भूमिका निर्वाह गरोस् भन्ने चाहन्छ भने तर चीनले भने यस विषयमा कुनै कडा प्रतिक्रिया दिने गरेको छैन। 

चीनले उत्तर कोरियासँग शान्ति वार्तागरी यसैका माध्यमबाट यो आणविक कार्यक्रम नियन्त्रण गर्न सकियोस् भन्ने चाहेको छ। चीनले सदैव उत्तर कोरियासँग वार्तागरी समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै आएको छ। 

यसरी आणविक परीक्षणको यो पछिल्लो होडबाजीले विश्वमा युद्धको भय झन् बढ्दै गएको टिप्पणी गर्न थालिएको छ। विश्लेषकले यस्तो अवस्थाको नियन्त्रण र निवारण गरी शान्तिपूर्ण विश्व निर्माणका लागि सबैको सकारात्मक पहल हुनुपर्नेमा जोड दिएका छन्।

तर यो बढ्दो हतियार मोहलाई मत्थर पार्न विश्वका शक्ति राष्टहरुले नै ठोस काम नगरेर उही पहिलेकै जस्तो नाकाबन्दी, बिरोध, निन्दा वा धम्कीले मात्र अब काम गर्ने अवस्था देखिँदैन। 

यसको भरपर्दो बिकल्प वार्ता नै हुनसक्छ। उत्तर कोरियासँग रुस वा चीनले गर्ने वार्ता अरुको तुलनामा बढी प्रभावकारी हुनसक्छ।

त्यसैले उनीहरुले यो अवस्थामा मध्यस्थताका रुपमा शान्तिवार्ताको प्रक्रियालाई अघि सारेर अमेरिकासँग पनि सन्तुलन कायम गर्न सके भने यसले सबैलाई र संसारलाई पनि हित नै गर्नेछ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell