PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

कास्कीलाई लालकिल्ला बनाउने दाउमा वाम गठबन्धन, भत्काउनेमा कांग्रेस



नरहरि पौड्याल

कास्कीलाई लालकिल्ला बनाउने दाउमा वाम गठबन्धन, भत्काउनेमा कांग्रेस

पोखरा :  निर्वाचनको मिति नजिकिएसँगै कास्कीमा चुनावी सरगर्मी बढेको छ। निर्वाचनका मुख्य प्रतिस्पर्धीकारुपमा देखिएका नेपाली कांग्रेस र वाम गठबन्धनका उम्मेदवारले कोणसभा, घरदैलो र चुनावी रणनीतिक योजनालाई तीव्ररुपमा अगाडि बढाएका छन्। 

वाम गठबन्धन लालकिल्ला बनाउने योजनामा अगाडि बढेको छ भने कांग्रेसले उनीहरुको योजना बिफल पार्न कम्मरकसेर लागेको छ।

प्रतिनिधिसभाका तीन र प्रदेश सभामा ६ वटा निर्वाचन क्षेत्र रहेको कास्कीमा दलहरुले आ–आफ्ना उम्मेदवारको पक्षमा चुनाव प्रचार प्रसारलाई अगाडि बढाएका छन्। 

प्रतिनिधिसभाका ३ र प्रदेश सभाका ६ सिटका लागि कास्कीमा ९५ जना उम्मेदवार चुनावी मैदानमा छन्।

दोस्रो संविधानसभा निर्वाचनमा कायम ४ क्षेत्र मध्ये क्षेत्र नम्बर १ र २ मा क्रमशः कांग्रेसका बहालवला कानुनमन्त्री यज्ञबहादुर थापा र शारदा पौडेलले निर्वाचन जितेका थिए भने क्षेत्र नम्वर ३ र ४ मा एमालेका क्रमशः रविन्द्र अधिकारी र सीता गिरी ओली निर्वाचित भएका थिए। 

तर, स्थानीय तह निर्वाचनमा कास्कीका ४ गाउँपालिका र एक महानगरपालिका मध्ये तीन वटा गाउँपालिका र महानगरमा एमालेले जित हासिल गरेको थियो भने एक गाउँपालिकामा मात्र कांग्रेस विजयी भएको थियो।

स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रसँगको सयकार्य हुँदा नराम्रोसँग बढारिएको कांग्रेसले यस पटक निर्वाचनलाई प्रतिष्ठाको विषय ठानेको छ। 

विगतका आफ्ना कमजोरीलाई सच्याउँदै कांग्रेसले यस पटक एकढिक्का भएर चुनावी मैदानमा उत्रिएको छ भने वाम गठबन्धनले पनि स्थानीय तह निर्वाचनको सफलतालाई कायम राख्दै माओवादी केन्द्रको साथ भएकाले कास्कीका ९ वटै सिट हत्याउने रणनीति बुन्दैछ।

समग्र जिल्लामा आफू र आफ्नो दलले चुनाव जित्ने दाबी गरेपनि कांग्रेस र गठबन्धनबीच तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

विकास समितिको सभापति हुँदा एमाले नेता रविन्द्र अधिकारीले एनसेल काण्डमा मुलुकलाई करोडौं नोक्सान पुर्याएको भन्दै कांग्रेसले जोडतोडका साथ यो विषयलाई उठान गरेको छ।

पूर्वराज्यमन्त्री कुमार खड्काले पोखराका आधादर्जन भन्दा धेरै चुनावी सभामा एनसेल काण्डमा रविन्द्रको हात रहेको भन्दै अरोप लगाएका थिए।

त्यसैगरी कांग्रेसले प्रधानमन्त्री शेरवहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललगायतलाई पोखरा ल्याएर वाम गठबन्धनले तानशाही एकतन्त्रीय अधिनायवाद लाद्न खोजेको भन्दै कस्केली जनतालाई प्रष्ट्याएको छ। 

वाम गठबन्धले पनि चुनावी प्रचार प्रसारका क्रममा चुनावी घोषणापत्र र जिल्लाको विकास निर्माणमा आफूले गरेको योगदानका बारेमा मतदाताहरुलाई बताउँदै आएको छ।

क्षेत्र नम्बर दुईका उम्मेदवार रविन्द्र अधिकारीले कांग्रेसका उम्मेदवार देवराज चालिसेले दुई पटक चुनाव जित्दापनि विकास निर्माण र जनसरोकारका काम गर्न नसक्ने उम्मेदवारलाई भोट नदिन गरेको आग्रहको प्रतिवाद बाहेक आफूमाथि लागेका आरोपको चित्तबुझ्दो जवाफ दिन सकेका छैनन्। 

कस्कीको क्षेत्र नम्वर एकमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेकातर्फबाट बहालवाला कानुनमन्त्री यज्ञबहादु थापा र वाम गठबन्धनकातर्फबाट पूर्वस्वास्थ्य मन्त्री खगराज अधिकारीबीच तीव्र प्रतिस्पर्धा हुँदैछ। 

दुबै जिल्लाका हेभिवेट उम्मेदवार हुन्। कास्की जिल्लाबाट मन्त्री पाउने भाग्यमानीहरुमा उनीहरु दुबैलाई चिनिन्छ। यस क्षेत्रबाट विगतमा कांग्रेस, माओवादी र एमालेका उम्मेदवारहरुले पालैपालो चुनाव जित्दै आएका छन्। 

विगतका निर्वाचनमा कांग्रेसका तारानाथ रानाभाट, यज्ञबहादर थापाले चुनाव जितेका थिए भने एमालेका खगराज अधिकारी र माओवादीका देव गुरुङ पनि यसै क्षेत्रबाट विजयी भएका थिए। स्थानीय तह निर्वाचनमा भने एमालेले राम्रो मतले अग्रता लिएको थियो।

यो क्षेत्रबाट एमालेले २७ हजार ९ सय ८२ र नेकपा माओवादी केन्द्रले प्राप्त गरेको ५ हजार ३ सय ६५ मत जोड्दा वाम गठबन्धनको ३३ हजार ३ सय ४७ हुन आउँछ।

यो कांग्रेसले प्राप्त गरेको मतभन्दा ९ हजार ८ सय ८८ बढी हो। यही मतलाई हेर्दा कानुनमन्त्री थापाले पूर्व स्वास्थ्यमन्त्री अधिकारीसँग जीत हासिल गर्न ठूलै कसरत गर्नुपर्ने देखिन्छ। 

यो क्षेत्रमा रुपा र मादी गाउँपालिका, पोखराका १० देखि १४, र २६ देखि ३२ सम्मका वडा पर्छन्।

त्यस्तै कास्की क्षेत्र नं १ को प्रदेश सभा १ मा एमालेले ल्याएको मत १७ हजार ६ सय ८२ हो। यहाँ माओवादी केन्द्रले ३ हजार ५६ मतमात्रै ल्याएको थियो।

वाम गठबन्धनको २० हजार ७ सय ३८ मतमा कांग्रेसले प्राप्त गरेको १२ हजार ७ सय ५८ मत घटाउँदा कांग्रेस ७ हजार ९ सय ८० मतले पछाडि पर्छ।

यहाँ वाम गठबन्धनबाट माओवादी नेता दीपक कोइराला र जीवन परियार प्रतिस्पर्धा गर्दैछन्। मतले वाम अगाडि भएपनि यस क्षेत्रमा कोइरालाभन्दा परियार बढी परिचित छन्। 

क्षेत्र नम्बर १ कै प्रदेश सभा २ मा कांग्रेसभन्दा जम्मा ४ हजार ३७ मतले वाम गठबन्धन अगाडि छ। यो क्षेत्रमा कांग्रेस कास्की अध्यक्ष कृष्ण केसीसँग एमाले जिल्ला उपाध्यक्ष मनबहादुर गुरुङले प्रतिस्पर्धा गर्दैछन्। यो प्रदेश सभाको निर्वाचन क्षेत्रमा पोखरा महानगरका १०, १२, १३, १४, २८ र मादी गाउँपालिका पर्छ।

कास्की क्षेत्र नम्बर २ मा कांगे्रसका देवराज चालिसे र एमालेका प्रभावशाली नेता रविन्द्र अधिकारीबीच प्रतिस्पर्धा हुँदैछ। अधिकारीले यसअघिको संविधानसभा निर्वाचनमा पनि यस क्षेत्रबाट जीत हाँसिल गरेका थिए। 

यस क्षेत्रमा स्थानीय तहमा एमाले र माओवादीको मत जोड्दा २२ हजार ९ सय ६६ मत हुन आउँछ।जुन कांग्रेसले प्राप्त गरेको मतभन्दा ७ हजार ७ सय ४९ बढी हो। यो क्षेत्रमा पोखरा महानगरपालिकाका ४, ८, ९, ११, १५, १६, १७, २०, २१ र २३ वडा पर्छन्।

क्षेत्र नं २ को प्रदेश सभा १ मा वाम गठबन्धनभन्दा कांग्रेस ६ हजार २ सय ९५ मतले पछाडि छ। यो क्षेत्रमा कांग्रेस ७ हजार १ सय ४५ मत ल्याएको थियो। यो प्रदेश सभामा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा र गुरु बरालले प्रतिस्पर्धा गर्दैछन्। प्रदेश सभा १ मा पोखरा महानगरका ७, १५, १७, २१ र ३३ पर्छन्।


क्षेत्र नम्बर २ को प्रदेशसभा २ मा वाम गठबन्धनबाट माओवादी कास्की इन्चार्ज राजकाजी गुरुङ र कांग्रेसबाट विन्दुकुमार थापा प्रतिस्पर्धा गर्दैछन्।

यही क्षेत्रमा टिकट नपाएको भन्दै कांग्रेसका नरेशशंकर पालिखेले बागी उम्मेदवारी दिएका छन्। यो क्षेत्रमा १० हजार २ सय ८५ मत वाम गठबन्धनका दलले प्राप्त गरेको मत हुन आउँछ भने कांग्रेसले ८ हजार ९ सय ३१ मत ल्याएको थियो। 

यो प्रदेश सभामा कांग्रेस वामभन्दा जम्मा १ हजार ३ सय ५४ ले पछाडि छ। यो प्रदेश सभामा अन्य प्रदेशमा भन्दा कम मतान्तर भएपनि वागी उम्मेदवारका कारण कांग्रेसलाई कठिन छ। 

यो प्रदेश सभामा महानगरपालिका वडा नम्बर ४, ८, ९, ११, १६ र २० पर्छन्। कास्की क्षेत्र नम्बर ३ मा कांग्रेस नेता शुक्रराज शर्मा र वाम गठबन्धनबाट एमाले नेता जगत विश्वकर्मा चुनावी मैदानमा छन्। 

नेता शर्मा कास्की कांग्रेसको करिव डेढदशक सभापति भएका थिए। तर, पार्टीले उनलाई पटकपटक उम्मेदवार बनाएपनि एकपटक पनि निर्वाचन जित्न सकेका छैनन्।

पार्टीले उनको लगावको मुल्याङ्कन गर्दे राष्ट्रिय सभा सदस्य बनाएको थियो। विश्वकर्मा दलित समुदायबाट राजनितिमा संघर्ष गर्दै आएका आशालाग्दा युवा उमेदवार हुन्।

यस क्षेत्रमा शर्मा र र विश्वकर्माबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। कांग्रेस यो क्षेत्रमा वाम गठबन्धनको मतभन्दा ६ हजार ४ सय ४१ मतले पछाडि छ। यो क्षेत्रमा अन्नपूर्ण, माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरपालिकाको १, २, ३, ५, ६, १८, १९, २२, २३, २४ र २५ नम्बर वडा पर्छन्।

क्षेत्र नम्बर ३ को प्रदेश सभा १ मा एमाले–माओवादीले स्थानीय तहमा प्राप्त गरेको मत १६ हजार ७ सय ६२ छ। जहाँ कांग्रेसले ११ हजार ७ सय १८ मत ल्याएको थियो।

यो प्रदेश सभामा कांग्रेसबाट पूर्व सांसद शारदा पौडेल र वाम गठबन्धनबाट माओवादी कास्की सहइन्चार्ज रामजी बरालबीच प्रतिस्पर्धा हुँदैछ। 
यो प्रदेश सभामा माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरको १, २, ३, १८, १९ र २५ वडा पर्छन्।

प्रदेश सभामा २ मा प्राप्त स्थानीय तहको नतिजा हेर्दा कांग्रेस वाम गठबन्धनभन्दा २ हजार ७ सय ७१ मतले पछाडि छ। यो प्रदेश सभामा वाम गठबन्धनकातर्फबाट युवा संघ नेपाल अध्यक्ष राजीव पहारीले टिकट पाएका छन् भने कांग्रेसबाट भोजबहादुर गुरुङ ‘शिकन्दर’ चुनावी मैदानमा छन्।

मतान्तर कम भएपनि पहारी चर्चित नेता हुन् भने कांग्रेसबाट टिकट पाउने भोजबहादुर कार्यकर्ताबीच त्यति परिचित नभएकाले पनि पहारीको जीतलाई बलियो रुपमा हेरिएको छ। यो क्षेत्रमा अन्नपूर्ण गाउँपालिका र पोखरा महानगरपालिकाका ५, ६, २२ देखि २४ सम्मका वडा पर्छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell