
- तीर्थ भट्टराई/खगेन्द्रप्रसाद घिमिरे
विगतमा पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम रहेको तथा पूर्वी पहाडी जिल्लामध्ये तुलनात्मक रुपमा विकास पथमा लम्केको धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउने बिषयलाई उम्मेदवारले प्राथमिकतामा राखिएको हो।
मंसिर २१ गते हुने निर्वाचनका लागि यहाँका प्रमुख राजनीतिक दल र उम्मेदवार धनकुटा बजारका साथै गाउँगाउँमा चुनावी प्रचारप्रचारमा व्यस्त छन्।
चुनावी प्रचारप्रसारका क्रममा धनकुटामा भेटिएका प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा उद्योगमन्त्री सुनिलबहादुर थापालाई धनकुटाका मुख्य समस्या के हुन् भनी प्रश्न गर्दा उनले यहाँको मुख्य समस्या भनेको नै सडक तथा बिजुली हो भन्दै यहाँका जनताको चाहनाअनुसार बेलहरामा निर्माणाधीन विमानस्थल पूरा गर्नु र पाख्रीबासमा कृषि विश्वविद्यालय स्थापना गर्नु आवश्यक रहेको बताए।
उनले धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउने आफ्नो मुख्य एजेण्डा रहेको बताउँदै पहिलेदेखि नै क्षेत्रीय सदरमुकाम रहेकाले यहाँ पूर्वाधार भएको, वातावरणीय दृष्टिले तथा मध्यपहाडी लोकमार्गले छोएकाले समेत यहाँ राजधानी बनाउन उपयुक्त हुने उनले बताए।
विपक्षीले हालसम्म केही काम गर्न नसकेका र पूर्व प्रधानमन्त्री स्व सूर्यबहादुर थापा तथा आफूले गरेका विकास निर्माणको लोकप्रिय कामका आधारमा जनताले आफूलाई नै मतदान गरेर विजयी गराउने भन्दै मन्त्री थापाले विपक्षीले पनि आफूहरुकै एजेण्डा बोकेका र उनीहरुको आफ्नो एजेण्डा नभएको बताए।
वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्र राईले जिल्लाका ६० वटा वडामा सडक पुगेको तर कच्ची मात्र भएकाले स्तरोन्नति गर्नुपर्ने, ६० वटै वडामा खेलमैदान निर्माण, पाख्रीबासमा कृषि क्याम्पस स्थापना तथा छवटा स्थानीय तहमा १४ श्ययाका र एकमा ५० श्ययाको अस्पताल स्थापना गर्नुपर्ने आवश्यकता रहेको बताए।
उनले बेलहरामा विमानस्थल निर्माण तथा पर्यटन विकास आदिलाई आफूले प्राथमिकता दिने बताए।
नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्य (क) का उम्मेदवार मनोहरनारायण श्रेष्ठले धनकुटालाई प्रदेशको राजधानी बनाउने र बेलहरामा विमानस्थल बनाउनेजस्ता विकास निर्माणका योजनालाई आफूले प्राथमिकतामा राखेको बताए।
वाम गठबन्धनबाट प्रदेशसभा सदस्य (क) का उम्मेदवार नीरन राईले जिल्लामा विकास निर्माण, सडक, सिँचाइ, खानेपानी, शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा समस्या रहेको तथा पर्यटनको विकास गर्नुपर्ने आवश्यकता रहेको बताए।
आफूहरुले स्थानीय तह जितेर धेरै काम गरेको, विभिन्न सडक टेण्डर प्रक्रियामा रहेको तर पनि आफूहरुको कामको प्रचारप्रसार नभएको उल्लेख गर्दै उनले विगतमा आफ्नो दलको सरकारले गरेका लोकप्रिय तथा राम्रा कामको आधारमा तथा हाल वाम गठबन्धनले जनतामा उत्साह तथा लहर आएकाले आफू जित्ने दाबी गरे।
लोकतान्त्रिक गठबन्धनबाट प्रदेशसभा सदस्य (ख) का उम्मेदवार एवं संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य अर्जुन थापाले जिल्लामा सडक सञ्जाल भएपनि धुले सडक भएकाले स्तरोन्नति गर्नुपर्ने, विद्युतीकरण भरपर्दो नभएको, जोखिमपूर्ण रुपमा विद्युत् वितरण गरिएको र शुद्ध खानेपानीको अभाव भएको बताए।
उनले धनकुटालाई रासायनिक मलमुक्त अर्गानिक जिल्ला बनाउने आफ्नो लक्ष्य रहेको तथा धनकुटालाई प्रादेशिक राजधानी बनाउने पनि आफ्नो एजेण्डा रहेको बताए।
आफ्नो दलले गरिबी हटाउ अभियान तथा भूमिहीनका लागि लघुवित्त योजना लागू गर्ने र पानीको समुचित व्यवस्थापनतर्फ कार्य गर्ने बताउँदै थापाले आफूले जित्ने दाबी गरे।
वाम गठबन्धनबाट प्रदेशसभा सदस्य (ख) का उम्मेदवार एवं नेकपा एमालेका पूर्वजिल्ला सचिव इन्द्रमणि पराजुलीले आजसम्म जनताको सरकार आउन नसकेको, कम्युनिष्ट सधैँ अल्पमतमा परेकाले अस्थिरता बढेको, अरु दलका सरकारले केही नगरेको तर अहिले भने वाम एक ढिक्का भएको र स्पष्ट कार्ययोजना तथा घोषणापत्र आएकाले यसले रुपान्तरण गर्नसक्ने बताए।
आफूहरुले धनकुटालाई प्रादेशिक राजधानी बनाएरै छाड्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।रासस