कपिलवस्तु : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेको सभालाई लक्षित गर्दै कपिलवस्तुको मायादेवी गाउँपालिका पकडीमा बम विस्फोट भएको छ।
वाम गठबन्धनले आज आयोजना गरेको सभालाई सम्बोधन गर्न पकडी पुगेका प्रचण्डले आमसभामा सम्बोधन टुँग्याएलगत्तै ठूलो आवाजका साथ विस्फोट भएको हो।
सभा समापन भइसकेका कारण विस्फोटबाट भने कुनै क्षति नभएको प्रहरीले जनाएको छ। विष्फोटको आवाजसँगै सभामा आएका सर्वसाधारणको भागाभाग भएको छ। प्रचण्डले सम्बोधन गरेको मञ्चबाट करिब एक सय मिटरको दूरीमा विस्फोट भएको हो। घटनास्थललाई नियन्त्रणमा लिएर नेपाली सेनाको टोलीले अनुसन्धान गरिरहेको छ।
मतदानको दिन नजिकिँदै गर्दा जिल्लामा बम विस्फोटका घटना बढ्न थालेका छन्। शुक्रबारमात्रै जिल्लाका तीन स्थानमा बम विस्फोट भएको थियो।
जिल्लामा थप बम विस्फोटका घटना हुन नदिन र मतदान प्रक्रिया भयरहित वातावारणमा सम्पन्न गराउन जिल्लाका तीनवटै सुरक्षा निकायलाई सघन ढंगबाट परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए। रासस