PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

माधव नेपालको घरदैलो : ३ किमी पैदल, ३ सय मिटर मोटरसाइकल, ३० मिनेट टाटा मोबाइल

माधव नेपालको घरदैलो : ३ किमी पैदल, ३ सय मिटर मोटरसाइकल, ३० मिनेट टाटा मोबाइल

नेत्र तामाङ/पहिलोपोस्ट


  • नेत्र तामाङ/चन्द्रबहादुर आले
काठमाडौं : शनिबार बिहान ७:३० बजे नै काठमाडौं महानगरको वडा नम्बर ३२ को जडीबुटीमा पूर्व प्रधानमन्त्री माधव नेपाल घरदैलो कार्यक्रममा उपस्थित भइसकेका थिए।

क्षेत्र नम्बर २ मा वाम गठबन्धनबाट साझा उम्मेदवार रहेका पूर्व प्रधानमन्त्री नेपालसँगै प्रदेशतर्फ ‘क’ का उम्मेदवार सानुकुमार श्रेष्ठ, समानुपातिक उम्मेद्वारहरू कमला पराजुली, रञ्जना पौडेल, माओवादी केन्द्रका क्षेत्र नम्बर २ का इन्चार्ज प्रकाश गौतमलगायत उपस्थिति भइसकेका थिए।

सात बजे सुरु हुने भनिएको कार्यक्रम ढिला हुँदै थियो। साढे सात हुँदा पनि घरदैलोका लागि निम्त्याइएका कार्याकर्ता नआइपुगेपछि उम्मेदवारको टोली एकैछिन सडक पार गरी मनोहरा खोलातिरको बस्तीमा पस्यो।
 
एकैछिन् घुमेपछि उम्मेदवारसहित घरदैलो टोली सडक पार गरी पहिलेकै ठाउँमा आइपुग्यो। अनि सुरु भयो घरदैलोको औपचारिक कार्यक्रम।

वडा नम्बर ३२ को सम्पर्क कार्यालय नजिकैको घरमा उम्मेदवार नेपालसहितको टोलीलाई स्वागत गरियो। सयपत्री फूलको माला लगाइदिए उम्मेदवारहरूलाई।
 
चुनावी र्‍याली अघि बढ्दै छाप्रोसम्म पुग्यो। यतिखेर पुग्दा ८ बजिसकेको थियो। 

बाटोमा घाम तापेर बसेका वृद्धवृद्धालाई पूर्व प्रधानमन्त्री नेपालले आफ्नो गलाको खादा निकालेर लगाइदिए। आशीर्वाद मागे। आफूलाई जिताउन आग्रह गरे।

त्यसपछि चुनावी र्‍याली पुनः मुल सडकमा आइपुग्यो।

घरदैलोमा सुरक्षाकर्मी, अन्य उम्मेदवार, स्थानीय नेता र सुरक्षाकर्मीको घेरामा रहेका नेपाललाई कहिले यता कहिले उताको घच्चाघच्चीले मुस्किल परिरहेको थियो।

मुल सडक पार गरेकैबेला उनको अगाडि होन्डा साइन बाइक आइपुग्यो। भिडको घच्चाघच्चीमा परेका नेपाल फुत्त मोटरसाइकल चढे र हात हल्लाउँदै अगाडि बढे। त्यसपछि भने सुरक्षाकर्मी मोटरसाइकलसँगै दौडन पर्‍यो।

झन्डै तीन सय मिटर बाइकबाट पार गर्दा ८:३० भएको थियो। 

अगाडि चुनावी अभियानकै लागि तयार पारिएको टाटा मोबाइल रहेछ। उम्मेदवार नेपाल त्यही टाटा मोबाइलको पछाडिपट्टि चढे। साथमा उम्मेदवारहरू पनि। त्यसपछि भने चुनावी र्‍यालीको गति बढ्न थाल्यो। 
भित्रभित्रैको सडकमा पुग्दा उम्मेदवार नेपाललाई स्वागत गर्दै रसबरी पनि खुवाए। नेपालले पनि गाडीबाटै हात हल्लाए। नमस्कार साटासाट गरे।

झन्डै तीस मिनेट टाटा मोबाइल यात्रा पछि पेप्सीकोला चोकमा पुगे उम्मेदवारहरू।

पेप्सीकोला चोकमा सूर्य चिन्हको ठूलो रंगौली तयार पारिएको थियो। वाम गठबन्धनका कार्याकर्ताले उम्मेद्वारहरूलाई त्यही स्वागत गर्दै फूलमाला र खादा लगाइदिए। कोही गीतसँगै नाचे।

त्यसपछि मदरल्यान्ड अस्पताल नजिकै कार्यक्रम आयोजना भयो।

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइपुगे। कार्यक्रममा आइपुग्नसाथ तीन मिनेट सम्बोधन गरे उनले। त्यसपछि उम्मेदवार नेपालले प्रचण्डलाई धन्यवाद दिँदै सभा टुंगिएको घोषणा गरे। 
सभा सकेपछि माओवादी अध्यक्ष प्रचण्ड र उम्मेदवार नेपाल हातमा हात मिलाएर पेप्सीकोला चोक हुँदै टाउन प्लानिङभित्र पसे।

शीर्ष दुई नेताको हिडाइ रफ्तार बढेपछि सुरक्षाकर्मीलाई पनि चटारो परेको थियो। करिब १० मिनेटको सँगैको यात्रापछि भने प्रचण्ड चितवन जानुपर्ने भन्दै छुट्टिए र नेपाल टोली टाउन प्लानिङमै घुम्न थाले।


ट्रेन्डिङ पोस्ट

Ncell