PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

प्रिमियर लिग : चेल्सी र लिभरपुल विजयी, टोटनहम बराबरीमा रोकियो



पहिलोपोस्ट

प्रिमियर लिग : चेल्सी र लिभरपुल विजयी, टोटनहम बराबरीमा रोकियो

प्रिमियर लिगमा साविक विजेता चेल्सी र लिभरपुलले जित हात पार्दा टोटनहमको खराब प्रदर्शनले निरन्तरता पाएको छ।

शनिबार भएको खेलमा एक गोलले पछि परेको अवस्था उल्टाउँदै चेल्सीले घरेलु मैदानमा न्यूकासल युनाइटेडलाई ३-१ ले हरायो। चेल्सीको जितमा एडेन हाजार्डले २ तथा अल्भारो मोराटाले १ गोल गरे।

ड्वाइट गेलले गोल गर्दै न्यूकासललाई पहिले अग्रता दिलाएपनि चेल्सीले पुनरागमन गर्दै जित हात पारेको हो। जितपछि १५ खेलबाट ३२ अंक जोडेको चेल्सी तेस्रो स्थानमा यथावत छ। एक खेल कम खेलेको म्यानचेष्टर युनाइटेको पनि ३२ अंक नै छ तर गोलअन्तरमा अगाडी रहदै दोस्रो स्थानमा छ।

यता रोवर्टो फिर्मिन्होले २ गोल गरेको खेलमा लिभरपुलले ब्राइटनलाई ५-१ ले पराजित गरेको छ। लिभरपुलका लागि एम्रे सान र फिलिप काउटिन्होले १-१ गोल गरे भने ब्राइटनका लेविस कुकले एक आत्मघाती गोल उपहार दिए। ब्राइटनका लागि ग्लेन मुरेले पेनाल्टीमा एक गोल फर्काए।

चार खेलमा जित हासिल गर्न नसकेको टोटनहम वाटफोर्डसँग १-१ गोलको बराबरीमा रोकिएको छ। क्रिस्टल प्यालेसलाई हराएयता टोटनहमले पछिल्लो चार लिग खेलमा जित हात पार्न सकेको छैन। दोस्रो हाफमा डेभिड सान्चेजले रातो कार्ड पाएपछि टोटनहम दश खेलाडीमा झरेको थियो।

त्यसअघि क्रिस्टियन काबासेलेल गोल गर्दै वाटफोर्डलाई अग्रता दिलाएपनि हेन मिन सनले टोटनहमका लागि बराबरी गोल फर्काएका थिए।

लिगअन्तर्गत शनिबारै भएका अन्य खेलमा लेस्टर सिटीले बर्नलीलाई १-० तथा एभरटनले हडर्शफिल्ड टाउनलाई २-० ले पराजित गरेको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell