PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

के राजपा-फोरमका शीर्ष नेतालाई जिताउन वाम गठबन्धनले सहयोग गर्दैछ?



राधेश्याम पटेल

के राजपा-फोरमका शीर्ष नेतालाई जिताउन वाम गठबन्धनले सहयोग गर्दैछ?

वीरगंज : शनिबार बिहान सामाजिक सञ्जालमा स्रोतको हवाला दिँदै वाम गठबन्धनले कांग्रेसलाई मधेशमा एक्ल्याउने रणनीति अनुसार मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव तथा राजपाका अध्यक्ष मण्डलका ६ जना नेतालाई वाम गठबन्धनले सघाउने समाचार सार्वजनिक भयो। 

तर वाम गठबन्धनका नेताहरुले हालसम्म राजपा–फोरम गठबन्धनका अध्यक्ष मण्डललाई सघाउने विषयमा आधिकारिक निर्णय वा समझदारी नबनेको बताएका छन्।

यद्यपि एमालेको प्रदेश दुईका संयोजक एवं पूर्व खेलकुद तथा युवामन्त्री सत्यनारायण मण्डलले राजपा–फोरम नेपाललाई संघाउने संकेत दिए।पहिलोपोस्टसँग कुराकानी गर्दै उनले भने, ‘आधिकारिक निर्णय भएको छैन। तर राजपा–फोरम नेपालका शीर्ष नेता उपेन्द्र यादव र राजेन्द्र महतोले सहयोगको आवश्यकता महसुस गरी कुरा गरे भन्ने यस विषयमा पहल हुन सक्छ।’

उनले थपे,‘जसरी म सप्तरी १ को (क) बाट प्रदेश सभामा लडदै छु,उपेन्द्र जी सप्तरी २ मा प्रतिनिधि सभातर्फ चुनाव लडिरहनु भएको छ। उनले जरुरी सम्झे भने उनलाई हामी जिताउँछौं,माथि कुरा गर्नु पर्छ।’

राजपा–फोरम नेपाल मधेसमा सम्पन्न भएको पछिल्ला चुनावमा एउटा प्रमुख शक्ति सावित भएकोले राजपा–फोरमका शीर्ष नेता जिते भने वाम गठबन्धन खुशी हुने उनको भनाई छ।

निधि हराउन महतोलाई साथ

एमालेको प्रदेश नं २ का सह–संयोजक नागेन्द्र चौधरीले सबैलाई जिताउने समझदारी वा निर्णय नभएको तर धनुषा–३ मा विमलेन्द्र निधिलाई हराउन राजेन्द्र महतोलाई साथ दिने एक ठाउँमा चर्चा भएको बताए। 'तर मैले त्यस्तो प्रस्तावलाई शुरुकै चरणमा विरोध गरेँ,' उनले बताए।

गलत समाचार : राजपा नेता 

राजपाका अध्यक्ष मण्डलका अध्यक्ष तथा पुर्व सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवसंग कुरा गर्दा यस्तो कुनै निर्णय नभएको बताए। ‘वामले राजपा–फोरमलाई सघाउँछन भन्ने कुरा एकदम गलत कुरा हो,’ उनले भने,‘वामसँग सहयोग लिनेदिने सवाल पैदा हुँदैन।’

त्यसैगरी राजपाका महामन्त्री जितेन्द्र सोनलले सघाउने विषयमा वाम गठबन्धनका नेतासँग कुनै समझदारी नभएको उनले बताए।

राजपा–फोरमका शीर्ष नेता को कहाँबाट चुनाव लडदै?


फोरम नेपाल अध्यक्ष उपेन्द्र यादव–सप्तरी २
राजपाका महन्थ ठाकुर– महोत्तरी ३
राजपाका राजेन्द्र महतो–धनुषा ३
 राजपाका शरतसिंह भण्डारी–महोत्तरी २
राजपाका महेन्द्रराय यादव–सर्लाही २
राजपाका अनिलकुमार झा–रौतहट १
राजपाका राजकिशोर यादव–सिरहा ४



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell