
कप्तान सर्गियो रामोसले रातो कार्ड पाएको खेलमा रियल मड्रिडले एथ्लेटिक विल्वाओसँग गोलरहित बराबरी खेल्दै ला लिगामा अंक बाँडेको छ। यता खेल सकिन तीन मिनेट अगाडि एन्टोनी ग्रीजमनले गोल गरेपछि रियल सोसिडाडमाथि कमब्याक विन हात पारेको एथ्लेटिको मड्रिड रियललाई पछि पार्दै अंक तालिकामा तेस्रो स्थानमा उक्लेको छ।
२९औँ मिनेटमा सोसिडाडका विलियम जोसेले पेनाल्टीमा गोल गरेपछि एथ्लेटिको १-० ले पछि परेको थियो। पहिलो हाफमा सोसिडाडले उक्त अग्रता कायमै राख्यो। तर दोस्रो हाफमा एथलेटिकोले २ गोल फर्कायो। ६३औँ मिनेटमा फिलिपे लुइसले बराबरी गोल गरे भने ८७औँ मिनेटमा ग्रीजमनले गोल गर्दै एथ्लेटिकोलाई ३ अंक दिलाए।
जितपछि १४ खेलबाट ३० अंक जोडेको एथ्लेटिको छिमेकी रियललाई पछि पार्दै तेस्रो स्थानमा उक्लेको छ भने दोस्रो स्थानको भ्यालेन्सियासँग अंक दूरी १ मा झारेको छ। यस्तै रियलमाथि २ अंकको अग्रता बनाएको छ। रियलको समान खेलबाट २८ अंक छ।
विल्वाओको घरेलु मैदानमा भएको खेलमा कप्तान रामोसले ८६ मिनेटमा दोहोरो पहँलो (रातो) कार्ड पाएपछि रियल अन्तिम समय दश खेलाडीमा झरेको थियो। रामोस ला लिगामा सर्वाधिक (१९) रेड कार्ड पाउने खेलाडी बनेका छन्।
डेपोर्टिभा ला कुरानालाई २-० ले पराजित गरेको सेभियाले रियलसमान २८ अंक जोडेको छ तर गोलअन्तरमा पछि पर्दै सेभिया पाँचो स्थानमा यथावत छ। सेभियाका लागि विसन वेन येडर र माइकल कोहन देहलीले गोल गरे।
ला लगामा यस सिजन अपराजित रहेको बार्सिलोना १४ खेलबाट ३६ अंकका साथ शीर्ष स्थानमा छ भने अर्को अपराजित टोली भ्यालेन्सिया १३ खेलबाट ३१ अंक जोड्दै दोस्रो स्थानमा छ।