PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

कलैया सेकुवा कर्नर संवाद: ‘नेताहरुले मासु र रक्सीको मेस चलाउँदा सुक्यो व्यापार'



पहिलोपोस्ट

कलैया सेकुवा कर्नर संवाद: ‘नेताहरुले मासु र रक्सीको मेस चलाउँदा सुक्यो व्यापार'

बीपी साह/पीके झा

कलैया: नेपालभित्र मात्र होइन भारतको विहारमा समेत चर्चित कलैयाको सेकुवा पसलमा अहिले सुनसान जस्तै छ। अन्य समयको तुलनामा चुनावका बेला यहाँका सेकुवा पसलहरुको व्यापार कम छ। कलैया बाहिरका ग्राहक अहिले छैनन् स्थानीय ग्राहक पनि अहिले त्यति आउँदैनन्।

सेकुवा पसल सुनसान हुनुको कारण छ –चुनाव। किनकि अहिले नेताहरुले ठाउँ ठाउँमा रक्सी र मासुको भोज आफैं गरेका छन्।

‘उम्मेदवारहरुले आफ्नै घर र टोलमा खसी ढाल्ने गरेका छन्। कार्यकर्ताहरुलाई दारु पनि आफैले कार्टुनका कार्टुन बाँड्छन्। अहिले हाम्रो सेकुवा पसलमा ग्राहक कम छन्’ कलैयाको सुकदेव साह सेकुवा पसलका सञ्चालक मुकेश साह भन्छन्, ‘पहिले यहाँका नेताहरु र दुई नम्बरी केटाहरु पनि आउने गरेको थिए। अहिले कोही आउँदैनन्।’

चुनाव नजिकिँदै जाँदा व्यापार घट्दै गएको मुकेश बताउँछन्। पसलमा अहिले रक्सी विक्रीमा रोक लगाइएकाले पनि घाटा बढेको मुकेशले सुनाए।

‘केही दिन अघिसम्म अलिअलि रक्सी पनि बिक्री हुन्थ्यो अहिले त प्रशासनले रक्सी पनि बन्द गराएको छ। सात आठ बजेदेखि नै बन्द गर्न पुलिस आउँछन्’ मुकेशले भने, ‘तीन चार ठाउँमा बम विस्फोट भएकोले वरिपरि गाउँका मान्छेहरु पनि आउँदैनन्। पुलिसले पनि चाँडै बन्द गराउँछन्। हामीलाई पनि डर छ।’

२४ वर्षीय मुकेश साह 'प्लस टु'को पढाई छोडेर सेकुवा व्यापारमा लागेका हुन्। उनका हजुरबुबा सुकदेव साहले करिब २५ वर्ष पहिले स्थापना गरेको सेकुवा पसल उनी चलाएर बसेका छन्।

सोही पसलका कामदार रोहित पासवान भन्छन्, ‘चुनावको समयमा कलैया बजार सुनसान हुन्छ। साँझ पर्ने वितिकै मान्छेहरु भेटिँदैनन् पहिले त अबेर रातिसम्म बजारमा चहलपहल हुन्थ्यो।’

चुनावका विषयमा पासवान भन्छन्, ‘हाम्रो टोलमा त धेरै नेताहरुको दौडधुप छ। उनीहरुले हाम्रो दलितको भोट जहिले पनि खरिद गर्ने प्रयास गर्छन्। अस्तिको चुनावमा पनि सबैभन्दा बढी सस्तो रक्सी हाम्रै टोलमा खुवाइयो।’

कलैयाका स्थानीय अगुवा सरफुल्लाह अन्सारी चुनावमा मधेश आन्दोलनसँगै विकास मुख्‍य एजेण्डा भएको बताउँछन्।

अन्सारी भन्छन् ‘मधेश आन्दोलनका बेला हामीले जुन पार्टीको विरोध गर्‍यौं अहिले तिनै पार्टी हावी छन्। मधेशवादी पार्टीभित्र आन्तरिक विवाद धेरै छ। विवादले कार्यकर्ता र नेता एक ठाउँमा छैनन्। आन्दोलनको भूमि कलैयाको मत गैर मधेशवादी पार्टीमा जाने सम्भावना बढी छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell