
यस सिजन गज्जबको फुटबल खेलिरहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वान मा सिजनको पहिलो हार बेहोरेको छ। पेरिस क्बलको अपराजित यात्रा पूर्णविराम लगाउन पिएसजीलाई स्ट्रासबर्गले २-१ ले पराजित गरेको हो।
पछिल्ला १५ खेलमध्ये १३ मा जित र २ मा बराबरी नतिजा निकालेको पिएसजी १६औ खेलमा भने पराजित हुन पुग्यो। यसअघि निर्णायक गोल गर्दै आएका विश्वकै महाँगा खेलाडी नेमार र एडिनसन कभानीले यस खेलमा गोल गर्न सकेनन्।
स्ट्रासबर्गलाई सिजनको चौथो जित दिलाउन नुडो डा कास्टा र स्टेफिन बोहोकेनले गोल गरे। पिएसजीका लागि केएलिन एमबापेले गोल गरेपनि हार टार्न पर्याप्त भएन।
शानदार जितपछि स्ट्रासबर्ग रेलिगेशन जोनबाट माथि उठ्दै १८ अंक जोडेर १६औं स्थानमा उक्लिएको छ।
यता हारपछि पनि १६ खेलबाट ४१ अंक रहेको पिएसजी शीर्ष स्थानमा आसिन छ र दोस्रो स्थानको मोनाको भन्दा अझै ९ अंकले अगाडी छ। साविक विजेता मोनाको एन्जर्सलाई १-० ले पराजित गर्दै दोस्रो स्थानमा उक्लेको हो। मोनाकोले १६ खेलबाट ३२ अंक जोडेको छ। एक खेल कम खेलेको मार्सेले ३१ अंकका साथ तेस्रो स्थानमा छ र मोनाकोलाई पछ्याइरहेको छ।