PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

धनुषा क्षेत्र नं १ र २ मा त्रिकोणात्मक प्रतिस्पर्धा



पहिलोपोस्ट

धनुषा क्षेत्र नं १ र २ मा त्रिकोणात्मक प्रतिस्पर्धा

  • अजयकुमार साह 
धनुषा :  धनुषाको निर्वाचन क्षेत्र नम्बर १ र २ मा कांग्रेस, वाम गठबन्धन र मधेशी गठबन्धनबीच त्रिकोणात्मक प्रतिस्पर्धा हुने भएको छ । 

प्रतिनिधिसभा सदस्यका लागि धनुषा निर्वाचन क्षेत्र नं १ बाट वाम गठबन्धनबाट माओवादी नेता मातृकाप्रसाद यादव प्रत्यक्ष चुनावी मैदानमा पहिलो पटक उत्रिएका छन्। 

त्यस्तै नेपाली कांग्रेसकातर्फबाट सोही क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि आनन्द ढुंगानाले उम्मेदवारी दिएका छन् भने फोरम राजपा गठबन्धनबाट फोरमका दीपक कार्कीले उम्मेदवारी दिएका छन्। कार्की हालै मात्रै कांग्रेस परित्याग गरी फोरम प्रवेश गरेका हुन्। 

प्रदेशसभा सदस्यका लागि धनुषा १ को (क) बाट वाम गठबन्धनका तर्फबाट एमालेका किशोरी साह, १ (ख) बाट वाम गठबन्धनबाट माओवादीका रामचन्द्र मण्डल चुनावी मैदानमा छन् भने नेपाली कांग्रेसबाट १ (क) मा प्रेमकिशोर साह (ख) मा रामउदय यादव प्रतिस्पर्धा गर्दै छन्। त्यस्तै फोरम राजपा गठबन्धनबाट १ (क) मा फोरमका श्यामनारायण यादव तथा १ (ख) मा राजपाका सञ्जय सिंहले उम्मेदवारी दिएका छन्। 

एउटा क्रान्तिकारी र भ्रष्टाचार विरोधी नेताका रुपमा छवि बनाउन यादव सफल भए पनि उनलाई चुनाव जित्न भने त्यति सहज छैन। उनको प्रतिस्पर्धा धनुषामा पञ्चायतकालमा शेरेधनुषाको उपाधि पाएका हेमबहादुर मल्ललाई लगातार तीन पटक हराउन सफल नेपाली काँग्रेसका नेता आनन्दप्रसाद ढुंगानासँग छ। 

पहिलो संविधानसभाको चुनावमा माओवादीबाट समानुपातिक सभासद् बनेका यादव माओवादी अध्यक्ष प्रचण्डसँग असन्तुष्टि बढेपछि आफ्नो कार्यकाल पूरा गर्नु अघि नै सभासद्बाट राजीनामा दिएका थिए। 

धनुषा–१ मा गणेशमान चारनाथ, धनुषाधाम, मिथिला, क्षिरेश्वरनाथ, मिथिला विहारी, सबैला र हंशपुर नगरपालिका गरी सातवटा स्थानीय तह छन्।

स्थानीय तहको निर्वाचनमा गणेशमान चारनाथ नगरपालिका र सवैला नगरपालिकामा माओवादी केन्द्रले उपप्रमुखसहित केही वडाअध्यक्षमा जितेको थियो भने बाँकीमा कांग्रेस र मधेशवादी दलले जितेका थिए। यहाँ स्थानीय तहमा कांग्रेसले बढी सिट जितेका छ। 

पञ्चायती व्यवस्थाविरुद्ध आफ्नै गाउँ सबैलामा कांग्रेस कार्यकर्ताको प्रभावमा परेर मातृका राजनीतिमा आएका थिए। विसं २०३३ बिपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर ‘मेरो घाँटी र राजाको घाँटी एउटै हो’ भनेर नेपाल आएपछि मात्रिका कांग्रेसबाट नै अलग भएका थिए। 

यादव अब संविधान संशोधन गराउन र मधेशको विकासका लागि प्रतिनिधिसभा चुनावमा उम्मेदवारी दिएकाले जनताले आफूलाई जिताउने विश्वास व्यक्त गर्छन्। 

आफूले चुनाव जिते रोजगारीको सिर्जना गर्ने, बन्द रहेको जनकपुर चुरोट कारखाना पुनःसञ्चालनमा ल्याउने, किसानको समस्या समाधान गर्ने, शिक्षा स्वास्थ्यलगायत क्षेत्रमा काम गर्नुका साथै भ्रष्टाचार अन्त्य गर्न लागिपर्ने यादव बताउँछन्। 

अर्का प्रतिस्पर्धी ढुंगानाले मधेश र मधेशीको माग नेपाली कांग्रेसले मात्र पूरा गर्न सक्ने भएकाले नेपाली कांग्रेसमा मतदान गर्न सबैलाई आग्रह गर्दै आएका छन्।

नेता ढुंगाना राष्ट्रिय पार्टी बन्न तीन प्रतिशत मतका लागि संघर्ष गरिरहेको कुनै क्षेत्रीय पार्टीले मधेशको राजनीतिक, आर्थिक र विकास–निर्माणको माग पूरा गर्न नसक्ने भएकाले यस क्षेत्रका मतदाताले आफूलाई नै जिताउने विश्वास व्यक्त गर्छन्।
 
त्यसैगरी धनुषा निर्वाचन क्षेत्र नम्बर २ मा पनि त्रिकोणात्मक प्रतिस्पर्धा हुने देखिएको छ। नेपाली कांग्रेस, वाम गठबन्धन र मधेशवादी गठबन्धनका तर्फबाट संघीय समाजवादी फोरमबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। 

नेपाली कांग्रेसबाट रामकृष्ण यादव, वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता रामचन्द्र झा र संघीय समाजवादी फोरमबाट उमाशंकर अरगडियाबीच कडा प्रतिस्पर्धा हुने स्थिति छ। कांग्रेस नेता रामकृष्ण यादव धनुषा निर्वाचन क्षेत्र नं २ बाट दुई पटक लगातार निर्वाचित भइसकेका छन्।

पहिलो पटक सभासद् बनेपछि लेखा समितिको संयोजकसमेत बनेका यादव अहिले कृषिमन्त्री छन्। सोही क्षेत्रबाट आफ्नो भविष्य खोजी रहेका माओवादी नेता रामचन्द्र झा पनि दुई पटक सांसद बनिसकेका छन्।

पहिलो संविधानसभाको चुनावमा एमालेबाट जितेका झा दोस्रो संविधानसभाको चुनावभन्दा केही महिनाअघि मात्रै माओवादीमा प्रवेश गरेर दोस्रो संविधानसभाको चुनावमा पराजित भएका थिए।

झा प्रचण्ड नेतृत्वको सरकारमा स्थानीय विकासमन्त्रीसमेत भएका थिए। यादव र झाबीच यस क्षेत्रमा कडा प्रतिस्पर्धा देखिएको छ।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell