
झापा : दोस्रो संविधानसभा निर्वाचनमा पराजित भएका नेपाली कांग्रेसका उम्मेदवार उद्धव थापा र नेकपा एमालेकी उम्मेदवार पवित्रा निरौला खरेल यतिबेला प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन्।
संविधानसभा निर्वाचनमा थापा झापा क्षेत्र नम्बर ४ बाट तथा खरेल क्षेत्र नम्बर २ बाट चुनाव लडेका थिए। मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि अहिले दुबैजना क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका छन्।
कांग्रेस झापाका सभापतिसमेत रहेका थापा झापा क्षेत्र नम्बर ४ मा एमालेका प्रेम गिरीसँग दोस्रो संविधानसभाको निर्वाचनमा पराजित भएका थिए भने खरेल झापा क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवार सुधीर शिवाकोटीसँग पराजित भएकी थिइन्।
निर्वाचन क्षेत्र समायोजनपछि थापा र खरेल अहिले एउटै निर्वाचन क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा छन्। यसअघि पराजित उम्मेदवार भएकाले यस पटक दुबैजना जित्ने राणनीतिका साथ चुनावी मैदानमा छन्। निर्वाचनको मिति नजिकिएसँगै दुवै उम्मेदवार मत माग्न व्यस्त छन्। दुबैले जितको दाबी गरिरहेका छन्।
कांग्रेस उम्मेदवार थापाले कृषिको आधुनिकीकरण, पर्यटन क्षेत्रको विकास, १५ हजार मेगावाट विद्युत् उत्पादन, स्मार्ट सिटी बनाउनेलगायत एजेण्डा अघि सारेका छन्।
वाम गठबन्धनकातर्फबाट उम्मेदवार बनेकी खरेलले दिगो शान्ति, समृद्धि, संविधान कार्यान्वयन, स्थायी सरकारसँगै रोजगारीको विषयलाई मुख्य एजेण्डा बनाएर चुनावी मैदानमा उत्रिएकी छन्।रासस