विराटनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मुलुक भारतप्रति कटाक्ष गर्दै नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएका छन्।
‘हाम्रा आन्तरिक मामिलामा कसैले हस्तक्षेप नगरोस्’, विराटनगरको पुष्पलाल चोकमा आयोजित चुनावी सभामा ओलीले भने, ‘ठूलाठूला हात घुसारेर यहाँको वातावरण हुँडलिदैन। यहाँ केही हुँदैन। बरु तिनै हात पोलिन्छन्।’
उनको भनाइ थियो, ‘हो, यहाँ हस्तक्षेप गरेर केही दिन मलाई प्रधानमन्त्रीबाट हटाए। तर त्यसको जवाफमा नेपाली जनता उर्लेर वाम गठबन्धनलाई दुई तिहाई बहुमत दिँदैछन्।’
अध्यक्ष ओलीले नेपाली काङ्ग्रेसको स्वाभिमान र राष्ट्रियता भनेको विदेशीका अगाडि सिधा होइन लम्पसार पर्ने र खुट्टाले होइन घूँडाले टेक्ने शैली हो भत्रे व्यङ्ग्यात्मक टिप्पणी गरे।
‘राष्ट्रियता भनेको जात र थर होइन’, ओलीको परिभाषा थियो, ‘एउटा सिमानाअन्तर्गत प्रशासन र शासन रहेको राजनीतिक प्रणालीले निश्चय गरेको जनताको सार्वभौम अधिकारभित्रको अवसरको, सुरक्षाको अनि विकासका साझा प्रयासको सुरक्षा, सम्मान र समृद्धिको साझा अभियानसहित जात र भूगोलको समग्रता नै राष्ट्रियता हो ।’
उनले भने, ‘नेपाली जाति उहिले इतिहास कालमा नालापानीमा थुनिएर पानी खान नपाएर मर्न लाग्दा पनि खुकुरी र चक्कूले अङ्ग्रेजका तोप र बन्दुकसित लड्ने अनि आधुनिक कालमा नाकाबन्दीमा पनि शिर ननिहुराउनेका सन्तान हो।’
हाम्रा बेग्लाबेग्लै राष्ट्रियता छन् भत्रे विखण्डनकारी तत्वसित नेपाली काङ्ग्रेसले चुनावी तालमेल गरेको उल्लेख गर्दै ओलीले बिपीको राष्ट्रियता र समाजवादलाई काङ्ग्रेसले छाडिसकेको आरोप लगाए।
‘तलतल गाउँगाउँमा बिपीका चेला अझै हुनुहुन्छ होला तर माथि पार्टी नेतृत्वमा हेर्नूस्, बिपीको राष्ट्रियता र समाजवादलाई कसले बोकेको छ ?’, ओलीको कथन थियो, ‘बिपीको सपना अहिले हामीले बोकेका छौँ। बिपीको राष्ट्रियता र समाजवाद अहिले हामीले अङ्गीकार गरेका छौँ। हामी तिनै बिपीले देखेको राष्ट्रियता–राष्ट्रियता भनिरहेछौँ, काङ्ग्रेसका साथीहरू खोक्रो, खोक्रो, खोक्रो भत्रुहुन्छ।’
विक्रम सम्वत् १९९७ मा गिरफ्तार भएर जेल हालिएका, २००१ सालमा भद्रगोल जेल तोडेर बाहिर निस्किएर बिपीसित मिलेर नेपाली काङ्ग्रेस बनाएका अनि जेल, यातना र निर्वासन भोगेका गणेशमानजीले आफ्नो जीवनको अन्तमा यो पार्टी काम नलाग्ने भयो भनेर आँसुका थोपा खसाएर काङ्ग्रेस छाड्नुपरेको ओलीले उल्लेख गरे।
त्यस्तै पार्टीका अर्का संस्थापक नेता, २०१५ सालका सभामुख अनि २०४७ र २०५६ सालका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले पनि आफ्नो जीवनको अन्त्यमा यो पार्टी काम लाग्दैन भनेर छाडेको उनले बताए।