काठमाडौं : नेपाल प्रहरीले मंसिर १६ गते चितवनबाट समिरमान सिंह बस्नेतलाई पक्रेको जनाएको छ। निर्माण व्यवसायी महासंघका अध्यक्ष रहेका शरदकुमार गौचनको हत्याका प्रमुख योजनाकारका बस्नेतलाई प्रहरीले खोजिरहेको थियो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)को टोलीले बस्नेतलाई चितवनबाट पक्रेको ब्यूरोका प्रमुख पुस्कर कार्कीले जानकारी दिए।
बुटवलमा नेकपा एमालेको युवा संगठन युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्यामा पनि यही समूह सक्रिय रहेको प्रहरीको दावी छ। त्यस्तै गुन्डा नाइके दावा लामामाथि गुहेश्वरी फाँटमा रहेको दिव्य पार्टी प्यालेसमा गोली प्रहारमा पनि यिनीहरुकै संलग्नता रहेको प्रहरीले जनाएको छ।
निर्माण व्यवसायी गौचनको गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित खरिबोट नजिक गोली हानी हत्या भएको थियो। प्रहरीले यसअघि गौचनको हत्यामा संलग्न सुटरसहित सात जना पक्राउ गरिसकेको छ। बस्नेतले स्वयम्भूलाई आधार क्षेत्र बनाएर गुण्डागर्दी गर्दै आएका थिए।
'लेनदेनको विषयलाई लियर घटना भएको देखियो,' पत्रकार सम्मेलनमा कार्कीले बताए। उनका अनुसार हुलाकी मार्ग निर्माण ठेक्कामा बस्नेतले २ प्रतिशत कमिसन मागेका थिए।