
चितवन : नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले वामपन्थीको लोकतान्त्रिकरण र लोकतन्त्रको प्रगतिशीलकरण अहिलेको आवश्यकता रहेको बताएका छन्।
‘आसन्न निर्वाचनमा लोकतन्त्रवादी संस्थाको भूमिका’ विषयक कार्यक्रममा भट्टराईले लोकतन्त्रवादी नवउदारवादको सट्टा सामाजिकहितको पक्षबाट लोकतान्त्रिकरण गरेर जानुपर्ने बताए।
उनले माक्र्स परिभाषित गरेको समाजवाद अहिले लागू हुन नसक्ने भन्दै समाजवादी प्रजातन्त्र अहिलेको आवश्यकता रहेको बताए। अहिलेको वाम गठबन्धनले देशको हितमा काम गर्न नसक्ने उनको भनाइ थियो।
संसारमा नै असफल भएको कम्युनिष्ट धारमा वाम गठबन्धन लागेको भन्दै भट्टराईले भने,‘अब मुलुक नयाँ समाजवादी प्रजातन्त्रमा जानुपर्छ, तर वामपन्थी पुरानै बाटोमा हिँड्नु भएकाले हामी उहाँहरुबाट छुट्यौँ।’
लोकतन्त्र भनेको आधारभूत मान्यताको रक्षा गर्ने शक्ति भएको भन्दै भट्टराईले यसको रक्षाका लागि संघसंस्थाको महत्वपूर्ण भूमिका हुने बताए
सोही कार्यक्रममा नेपाली कांंग्रेसका महामन्त्री डा शशांक कोइरालाले लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक गठबन्धन बनाउनुपरेको बताए।
अहिले लोकतन्त्रको पक्षमा जनमत रहेको भन्दै महामन्त्री कोइरालाले साम्यवादले जितेमा जनताले बोल्न र लेख्न नपाउने बताए।
वामपन्थी एक भएर चुनौती दिइरहेको भन्दै कोइरालाले भने,‘वामपन्थीले जितेमा संगठित हुने, लेख्ने, बोल्ने अधिकार गुम्छ, त्यसैले लोकतान्त्रिक गठबन्धनलाई जिताउनुपर्छ।’रासस