
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाको मौलिक संस्कृतिको परिचायकका रुपमा रहेको नेवाः संस्कृतिको सम्बद्र्धन र संरक्षणका लागि सबैको साथ र सहयोग जरुरी रहेको बताएकी छन्।
ज्यापू संस्कृति विकास कोषले १४औँ राष्ट्रिय ज्यापू दिवस समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालको मौलिक संस्कृतिको संरक्षकका रुपमा रहेका ज्यापू समुदाय परिश्रमी रहेको बताइन्।
उनले भनिन्,‘कला, संस्कृति र भाषामा एकदमै धनी रहेका ज्यापू समुदायको कला, संस्कृति एवं भाषाको संरक्षणका लागि सबैको सहयोग र सद्भाव जरुरी छ।’
भूकम्पका कारण क्षतिग्रस्त भएका काठमाडौँ उपत्यकाको सांस्कृतिक धरोहरको संरक्षण र पुनःनिर्माण गर्ने अभियानमा नेवार र विशेष गरी ज्यापू समुदाय सफल हुने राष्ट्रपति भण्डारीले विश्वास व्यक्त गरिन्।
आधुनिकीकरणले नेपालको मौलिक कलासंस्कृति क्रमशः छायाँमा परेको हो कि भन्ने आशंका पैदा भएको भन्दै राष्ट्रपति भण्डारीले भाषा, रीतिथितिको जर्गेनामा कुनै पनि कञ्जुस्याइँ नगर्न आग्रह गरिन्।
कार्यक्रममा काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौँ उपत्यकाको कलासंस्कृति र भाषाको संरक्षणका लागि महानगरले अभियान नै सुरु गरिसकेको बताए।
कार्यक्रममा राष्ट्रपति भण्डारीले मूर्तिकार रवीन्द्र ज्यापूलाई ज्यापू रत्न, फणिन्द्ररत्न बज्राचार्यलाई भाषा, संस्कृति सम्मान र नातिकाजी महर्जनलाई शिक्षा सम्मान प्रदान गरेकी थिईन्। विसं २०६१ देखि ज्यापू दिवस मनाउन थालिएको हो।रासस