PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

मोरङ–५ मा त्रिकोणात्मक भिडन्त, गिरिजाप्रसाद र शैलजाको विरासत कसरी जोगाउलान् अमृत अर्यालले ?



अनन्तराज न्यौपाने

मोरङ–५ मा त्रिकोणात्मक भिडन्त, गिरिजाप्रसाद र शैलजाको विरासत कसरी जोगाउलान् अमृत अर्यालले ?

विराटनगर :  नेपाली काङ्ग्रेसका स्वर्गीय सभापति गिरिजाप्रसाद कोइराला र काङ्ग्रेसकै क्रान्तिकारी छविकी नेतृ स्वर्गीय शैलजा आचार्यको गरी दुई निर्वाचन क्षेत्र मिलेर बनेको मोरङ क्षेत्र नम्बर–५ मा आफ्नो प्रतिष्ठा जोगाउन काङ्ग्रेस केन्द्रीय सदस्य अमृत अर्याल क्रियाशील छन्। 

दोस्रो संविधानसभा २०७० मा यही क्षेत्रबाट सङ्घीय समाजवादी फोरम (तत्कालीन मधेसी जनअधिकार फोरम)का अध्यक्ष उपेन्द्र यादवलाई परास्त गरेर चर्चित बनेका केन्द्रीय सदस्य अर्याल २१ गतेको अग्निपरीक्षामा फेरि खरो उत्रने विश्वास गरिरहेका छन्।

मोरङका अन्य सबै क्षेत्रमा लोकतान्त्रिक र वाम गठबन्धनकाबीच प्रतिस्पर्धा छ तर यस क्षेत्रमा काङ्ग्रेसका अर्यालसहित वाम गठबन्धनबाट उठेका माओवादीका विना विभागीय मन्त्री शिवकुमार मण्डल र सङ्घीय समाजवादी फोरमका जिल्ला अध्यक्ष राजकुमार गरी तीन जनाको त्रिकोणात्मक भिडन्त हुनेछ।

मोरङका ६ मध्ये क्षेत्र नम्बर–५ सबैभन्दा कम मतदाता भएको भूगोल हो। यस क्षेत्रमा मतदाताको सङ्ख्या ८९ हजार २ सय ८७ छ । सबैभन्दा कम मतदाता भए पनि क्षेत्रगत रूपमा यो सबैभन्दा ठूलो क्षेत्र हो। 

मोरङको दक्षिणी भागअन्तर्गत पूर्वमा विराटनगर महानगरपालिकाको वडा नं. १४ देखि पश्चिममा रङ्गेली नगरपालिकाको वडा नम्बर ५ सम्म अर्थात् पूर्वदेखि पश्चिमसम्म भारतको सिमाना यस क्षेत्रमा जोडिएको छ। 

विराटनगर महानगरपालिकाका १३, १४, १५, १६, १७ र १८ गरी ६ वटा र रङ्गेली नगरपालिकाका ४, ५, ६ र ७ गरी ४ वटा वडासहित धनपालथान र जहदा गाउँपालिका यस क्षेत्रमा समाहित छन्।

मधेसी समुदायका मतदाताको सङ्ख्या ९९ प्रतिशत हुनु यस क्षेत्रको अर्को विशेषता हो।मधेसी समुदायको बाहुल्य भएपनि यस क्षेत्रमा चुनाव लड्न फोरमका अध्यक्ष उपेन्द्र यादव आएनन्। मोरङमा फोरमभित्रको अन्तरकलह र एकअर्काप्रतिको टकराव मिलाउन नसकेपछि अध्यक्ष उपेन्द्र चुनाव लड्न सप्तरी गए।

फोरमले यस क्षेत्रमा जिल्ला अध्यक्ष राजकुमार यादवलाई उठाएको छ। मधेस आन्दोलन २०६४ पछि राजनीतिमा उदाएका यादव रङ्गेलीका जमिन्दार खलकमा पर्छन्। परिवारका विभित्र सदस्यका नाममा उनको ६० बिघाभन्दा बढी जमिन छ। 

नाकाबन्दीपछि राजकुमारको आर्थिक हैसियत एक्कासी उठेको देखियो। त्यसबेला सिमानाबाट हुने पेट्रोलियम पदार्थलगायतका वस्तुका अनधिकृत कारोबारमा उनको संलग्नतालाई फोरमकै कार्यकर्ता आलोचना गर्छन्।

गोल्डेन अस्पतालभित्र र कोसी अञ्चल अस्पतालअगाडि गरी २ ठाउँमा उनका ठूला औषधि पसल छन्।  दोस्रो संविधानसभा निर्वाचनसम्म मोरङमा फोरमका जिल्ला अध्यक्ष उमेश यादव थिए।

निर्वाचनमा केन्द्रीय अध्यक्ष उपेन्द्र समेतले पराजयको पीडा भोग्नु परेपछि फोरमको केन्द्रीय समितिले उमेशसित राजिनामा मागेर राजकुमारलाई कार्यवाहक अध्यक्ष बनायो। उनै राजकुमार गतवर्षको जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला अध्यक्ष भए।

पार्टीभित्रको यही द्वन्द्वका कारण राजकुमार र उमेशको बेग्लाबेग्लै गुट मोरङको फोरममा क्रियाशील छ। अर्का पूर्वसांसद् जयराम यादवको समूह पनि सक्रिय देखिन्छ।

राजकुमार यस क्षेत्रलाई फोरमको राजधानी भत्र रुचाउँछन्।‘फोरमको भोट बैंकबाट म चुनाव लडिरहेको छु’, आफ्नो विजयको आधारका बारेमा राजकुमारले भने, ‘मधेसी जनताले आफ्नो आस्था, निष्ठा र समर्पणलाई भुल्ने छैनन्।’ 

वाम गठबन्धनका तर्फबाट यस क्षेत्रका प्रत्याशी बनेका विना विभागीय मन्त्री मण्डल २०५८ सालमा माओवादीले गठन गरेको मधेसी मुक्ति मोर्चाको केन्द्रीय कोषाध्यक्ष बनेर जनयुद्धमा प्रवेश गरेका हुन्। पार्टीको रौतहट र मोरङको जिल्ला इन्चार्ज हुँदै उनी अहिले स्थायी समिति सदस्यको जिम्मेवारीमा छन्।

क्षेत्र नम्बर ५ मण्डलको कार्यक्षेत्र र घरपरिवार भएको ठाउँ भएपनि माओवादीको सशक्त सङ्गठन क्षेत्र भने होइन। 

दोस्रो संविधानमा सभामा काङ्ग्रेसका गयानन्द मण्डलसित ८ मतको अग्रताले मात्र जितेका मण्डलको विजयको मुख्य आधार अर्बपति व्यवसायी दिलीप अग्रवाल बगडिया हुन्।

काङ्ग्रेसमा महाधिवेशन प्रतिनिधि नपाएपछि माओवादी पसेका दिलिप गत स्थानीय तहको निर्वाचनमा रङ्गेली नगरपालिकामा प्रमुख पदमा निर्वाचित भएका छन्।

आनन्द ब्रान्डका नौ वटा इँटाभट्टा, कत्था र प्लाइउड उद्योग तथा म्याजिक चप्पलका सञ्चालक बगडियाले पर्याप्त साधनस्रोत जुटाइदिएका कारण मण्डललाई चुनाव लड्न सजिलो परेको देखिन्छ।

पार्टीभित्र सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाका प्रियपात्र मध्येका एक अमृत महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका थिए। तर सभापति देउवाले उनलाई केन्द्रीय सदस्यमै मनोनीत गरे। 

विराटनगरको राजनीतिक परिवारमा कान्छो भाइका रूपमा जन्मिएका अर्यालका ३ वटै दाजु विनोद, मदन र मुनु काङ्ग्रेसको सशस्त्र आन्दोलन र विमान अपहरण काण्डमा संलग्न थिए। 

विपी कोइराला २०३३ सालमा नेपाल फर्किएपछि काङ्ग्रेस राजनीतिमा सक्रिय अमृत मोरङ काङ्ग्रेसको सभापति २ पटक भइसकेका छन्।

पञ्चायत सरकारले २०४१ सालमा अर्यालको मलद्वारमा खोर्सानी हालेर यातना दिएको थियो। त्यस्तै २०६२ सालमा विराटनगरको संसारीमाइस्थानमा प्रहरीले उनलाई ताकेर गोली हानेको थियो तर अर्यालको शरीरमा गोली लागेन।

अर्यालले यस क्षेत्रमा आफ्नो विजयको मुख्य आधार आफूले गरेको विकासनिर्माण र विद्युतीकरण नै हो भत्रे दाबी गरेका छन्। सांसद् विकास कोषबाट थोरै रकम पाएको तर आफ्नो व्यक्तिगत पहलमा ६५ करोडभन्दा बढी निकासा गराएर बाटो, पुल र विद्यालयको निर्माण गरेको उनको दाबी छ।
 
  


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell