
चितवन : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टहरू झगडा गर्न मात्रै होइन, मिलेर देश बनाउन पनि सक्छन् भन्ने प्रमाणित गर्न वाम गठबन्धन गरिएको बताएका छन्।
जिल्लाको माडीमा आज संयुक्त वाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र आफूले देश बनाउने संकल्प गरेको बताए।
उनले दुई पार्टी मिल्दा दुई चार हजार मतले होइन, भारी मतले यहाँबाट दाहाललाई जिताउनुपर्छ भने। अब पार्टी एउटै बन्ने बताउँदै भन्दै उनले भने – “राष्ट्र निर्माणको महान् अभियानमा सामेल भइरहेका छौं । यसलाई सफल पार्न म खटिइरहेको छु, तपाइँहरू पनि खट्नुहोस्।”
उनले भने – “आज माडी जागेको छ, चितवन जागेको छ र देश नै जागेको छ।” माओवादी अध्यक्ष दाहालले माडीलाई मणि बनाउने उद्घोष गरेको भन्दै उनले यसमा आफ्नो साथ रहने वाचा गरे।
नेपाली काँग्रेसले चितवन क्षेत्र नं ३ मा राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष विक्रम पाण्डेलाई समर्थन गरेकोप्रति इङ्गित गर्दै उनले कांग्रेसले रुख काटेर हलो बनाएको टिप्पणी गरे। ओलीले थपे – “कार्यकर्ताको मनमा पीडा छ। नआत्तिनुहोस्, कांग्रेसले खोजेको राष्ट्रियता हामी दिन्छौं।”
कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बाँदरमुढे घटना द्वन्द्वकालको सबैभन्दा ठूलो गल्ती भएको स्वीकारे।
बाँदरमुढे घटनाका पीडित परिवारसँग आज सम्झौता गरेको जानकारी दिँदै उनले त्यसको पालना गर्ने प्रतिबद्धता जनाए।
माडीसहितको चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका दाहालले सो क्षेत्रमा आफ्ना प्रतिस्पर्धीले मतदातालाई प्रलोभनमा पारेको आरोप लगाए।
हालै राप्रपा (प्रजातान्त्रिक) को कारबाहीमा परेका सो पार्टीका महामन्त्री रेशम लामाले नेपाली जनताको शान्ति, राष्ट्रियता र राजनीतिक स्थिरताका लागि वाम गठबन्धनमा मत दिन आग्रह गरे।
रासस