PahiloPost

May 14, 2024 | १ जेठ २०८१

मधेश आन्दोलनको डकुमेन्ट्री देखाउँदा तनाव, अनिल झा भन्छन् : पैसा हुनेले पैसा बाँड्छन्, हामीसँग शहीदमात्र छन्



बीपी साह

मधेश आन्दोलनको डकुमेन्ट्री देखाउँदा तनाव, अनिल झा भन्छन् : पैसा हुनेले पैसा बाँड्छन्, हामीसँग शहीदमात्र छन्

सेरहवा (रौतहट) : मधेश आन्दोलनका शहीद सम्बन्धी डकुमेन्ट्री देखाएको भन्दै प्रहरी र मधेशी गठबन्धनका नेताहरुबीच रौतहटमा दुई पटक झडप भएको छ। जसक्रममा आधा दर्जन घाइते भए।

झडपपछि निर्वाचन आयोगले प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनको प्रचार प्रसारको क्रममा शहीदको फोटो र आन्दोलन सम्बन्धी डकुमेन्ट्री प्रदर्शन गर्नमा रोक लगाएको छ। 

चुनावको क्रममा शहीदसँग सम्बन्धित सामाग्री प्रचार गर्नबाट रोक लगाएपछि रौतहटबाटै प्रतिनिधि सभाका उम्मेदवार एवं राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाले भने, ‘चुनावमा जोसँग पैसा उसले पैसा बाँड्दैछ। हामी आन्दोलनकारीसँग आन्दोलनको सम्झना छ। शहीदको फोटो छ। के हामी त्यो शहीदलाई नसम्झिने?’

चुनावी घरदैलोका क्रममा रौतहट पूर्व क्षेत्र सेरहवामा भेटिएका झाले पहिलोपोस्टसँग भने, ‘निर्वाचन आयोग एक पक्षीय प्रयोग हुँदैछ। ठूला दलले जे भन्छन् आयोगले त्यही गर्छ। त्यसकारण निर्वाचन आयोगमाथि प्रश्न गर्ने धेरै ठाउँ छ।’

‘कांग्रेसले बीपी कोइरालाको फोटो देखाउन पाउने, माओवादीले माओको र जनयुद्धका शहीदहरुको फोटो देखाउन पाउने, एमालेले मनमोहन र मदन भण्डारीको फोटो देखाउन पाउने तर हामीले शहीद रमेश महतो, शहीद मैहरुदिनको फोटो देखाउन नपाउने?,’ झाको भनाई थियो।

यसपटकको निर्वाचन अन्य निर्वाचनको तुलनामा फरक भएको उनको बुझाइ छ। आफुहरुलाई निर्वाचनमा एजेण्डा बारे बुझाउन नपरेको उनी बताउँछन्। 

झा भन्छन्, 'सडकबाट उठेका कुराहरु मधेशी जनतालाई याद नै छ। मधेशीले अस्वीकार गरेको कालो संविधान याद नै छ। सरकारले मधेशीको टाउको र छातीमा गोली हानेको मधेशीलाई याद नै छ। त्यसैले मधेशवादी पार्टीलाई चुनाव जित्न सहज छ।’

आफ्नो क्षेत्रमा सडक सञ्जालको समस्या रहेको सुनाउँदै झाले गैर मधेशी पार्टीहरुले यतिका दिनसम्म जित्दै आए पनि रौतहटको विकास हुन नसकेको बताए। 

एमाले नेता माधव नेपालप्रति लक्षित गर्दै झाले भने, ‘एउटा बहादुर रौतहटलाई लुटेर भागे। तीनका चेलाहरु अहिले पनि छँदैछन्। तिनीहरुले रौतहटमा लुटतन्त्र मचाएकै छन्। चुनावमा पैसाको खोलो बगाएकै छन्।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell